के हामी आर्थिक मन्दीमा गएकै हौँ त ?
काठमाडौँ – नेपाल पनि आर्थिक मन्दीका नजिक पुग्यो कि भन्ने जानकारले चिन्ता व्यक्त गरेका छन् । सिटिजन बैङ्क इन्टरनेश्नलका बैंकका सञ्चालक तथा व्यबसायी प्रबल जङ्ग पाण्डेले सामाजिक सञ्जालमा 'के हामी आर्थिक मन्दीमा गएकै हौँ त ?' भन्ने शीर्षकमा लामो स्ट्याटस लेखेका छन् ।
उनले आर्थिक मन्दीमा गएका केही उदाहरणहरू प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, 'सहर मा देखिएका 'टु लेट' लेखिएका खाली घरहरू, खाली रेस्टुरेन्टहरू, घर जग्गा को बिक्री शून्य तर्फ, शेयर बजार हरेक दिन जसो गिर्दो, औद्योगिक उत्पादन मा ह्रास, निर्माण सामग्रीको व्यापार मा ६० % भन्दाको कमी , सरकार राजश्व सङ्कलन गर्न नसकेर दैनिक खर्च चलाउन विदेशी ऋण लिन पर्ने अवस्था , जनताको 'कस्ट अफ लिभिङ' अप्रत्याशित रूपमा वृद्धि, यसको मूल्याकन गर्नु पर्ने सरकार चिर निन्द्रा मा , प्रमुख राजनीतिक दलहरू सधैँ झैँ राजनीतिक भागबन्डा मा । अहिले सम्म अर्थतन्त्र चलायमान बनाउने उद्यमीहरू पनि चरम नैरसयतामा,' ।
नेपाल सिमेन्टमा आत्मनिर्भर भए पनि अहिले अधिकांश सिमेन्ट उद्योगहरू बन्द हुने अवस्थामा रहेको उनको भनाइ छ। सिमेन्ट उद्योग मा वित्तीय संस्थामा ३०० अर्ब भन्दा बढी लगानी छ, डन्डी उद्योग को अवस्था उस्तै छ, साना मझौलादेखि ठुला होटेलको अवस्था झन् भयावह भएको भन्दै उनले ठुला उद्योगहरूमा आएको मन्दीले अधिकांश ढुवानी व्यवसायीहरू बैङ्कको किस्ता तिर्नै नसक्ने अवस्थामा पुगी सकेको बताएका छन् ।
'हाम्रो आम्दानीको मुख्य स्रोत रेमिटेन्स वृद्धि भई रहेकै छ , पेट्रोलियम पदार्थ को मूल्य पनि घट्दो क्रममा छ , हामी कहाँ चुकिरहेका छौ त ?' भन्दै उनले सामाजिक सञ्जालमै प्रश्न गरेका छन् । उनले अबको केही वर्ष कसैले पनि आफ्नो व्यक्तिगत स्वार्थ नहेरी अर्थतन्त्र जोगाउने तर्फ लाग्न अनुरोध गरेका छन् ।