गान्धीजीको नजरमा धर्मको अर्थ : एक प्रेरक प्रसङ्ग
काठमाडाैँ - एक पटक महामना पण्डित मदनमोहन मालवीय, मोहनदास करमचन्द गान्धी र अन्य केही मानिस धर्मको बारेमा चर्चा गरिरहेका थिए । चर्चाको बेला मालवीयले गान्धीलाई सोधे, बापू, तपाईँको नजरमा धर्म भनेको के हो ?
गान्धीले भने, पण्डितजी, मेरो नजरमा धर्मको अर्थ कर्तव्य हो । समाजका हरेक व्यक्तिको अलग धर्म हुन्छ । सैनिकको धर्म आफ्नो राष्ट्र र समाजको रक्षा गर्नु हो, चाहे उनीहरूको प्राण नै किन नजाओस् ।
त्यस्तै व्यापारीको धर्म पूरा इमानदारीका साथ उपभोक्तालाई आवश्यक वस्तु उपलब्ध गराउनु हो । ब्राह्मणको धर्म मानिसलाई राम्रो शिक्षा दिएर चरित्रवान् बनाउनु हो । न्यायाधीशको धर्म निष्पक्ष भएर सबैलाई न्याय दिनु हो । राजाको धर्म जनताको सेवा र रक्षा गर्नु हो । प्रजाको धर्म आफ्नो राजाप्रति निष्ठा र विश्वास व्यक्त गर्नु हो ।
गान्धीजीको मुखबाट धर्मको बारेमा अनौठो व्याख्या सुनेर मालवीय र अन्य सबै खुसीले गद्गद् भए ।
साभार: ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट