Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक वर्षमा सेयर बजारमा लगानीकर्ताको सम्पत्ति १४ खर्ब ५५ अर्ब रुपैयाँ घट्यो

बिहीबार, पुस ७, २०७९

काठमाडौँ – एक वर्षको अवधिमा सेयर बजारमा लगानीकर्ताको साढे १४ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति घटेको छ । एक वर्ष अगाडिको बजार पुँजीकरण र अहिलेको बजार पुँजीकरणको तुलना गर्दा यस्तो देखिएको हो ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सन् २०२२ को जनवरी १७ मा  कारोबार बन्द हुँदा ४१ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण भएको थियो । सन् २०२२ को डिसेम्बर २० मा कारोबार बन्द हुँदा २७ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ बराबरको बजार पुँजीकरण भएको छ । 

 

यसरी हेर्दा एक वर्षको अवधिमा बजार पुँजीकरण नै १४ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँले घटेको देखिन्छ । तर, यसबिचमा नयाँ कम्पनी सूचीकरण पनि भएकोले पुराना लगानीकर्ताको सम्पत्ति सो रकमभन्दा पनि बढी घटेको हुन सक्नेछ ।

 

सेयर बजार अत्यधिक बढ्यो भन्ने अनुमान गरेर नेपाल राष्ट्र बैङ्कले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत एक लगानीकर्ताले एउटै बैङ्क वित्तीय संस्थाबाट ४ करोड र सबै बैङ्क वित्तीय संस्थाबाट गरी १२ करोड रुपैयाँभन्दा बढी ऋण लिन नपाउने नीतिगत व्यवस्था गरेको थियो । राष्ट्र बैङ्कको यो नीतिगत व्यवस्थापछि बजार घट्न थालेको थियो ।

 

सेयर बजार घट्न थालेपछि बैङ्किङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव पनि हुन थालेको थियो । एकातिर बैङ्किङ क्षेत्रको नियामकले सेयर विक्री गर्न दिएको अप्रत्यक्ष दबाब र अर्कोतिर बजारमा तरलता अभावको कारण सेयर बजारमा निराशा बढ्दै गएको थियो । यही  निरासाको कारण सेयर बजार मापक नेप्से परिसूचक करिब ३२ सयको विन्दुबाट घटेर अहिले साढे १८ सय विन्दुको वरिपरि घुमिरहेको छ ।

 

यस्तै, पछिल्लो समय बैङ्किङ क्षेत्रको कर्जाको व्याज पनि बढेर १८ प्रतिशतको हाराहारीमा पुगेको छ । एकातिर लगानीयोग्य रकमको अभाव र अर्कोतिर चर्को ब्याजदरका कारण सेयर बजारबाट लगानीकर्ताले छोटो अवधिमा नै धेरै रकम गुमाउनु परेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्