अमेरिकी संसदमा सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘युक्रेनले आत्मसमर्पण गर्दैन’
काठमाडौँ – युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनले आत्मसमर्पण नगर्ने बताएका छन् । अमेरिका भ्रमणमा रहेका उनले अमेरिकी संसदलाई सम्बोधन गर्दै रुसको अत्याचारले सीमा नाघेको भन्दै युक्रेनले आत्मसमर्पण नगर्ने बताएका हुन् ।
रुसविरुद्धको लडाईँमा युक्रेनलाई अमेरिकाको मेरिकाको साथ, सहयोग र समर्थनप्रति कृतज्ञ रहेको जेलेन्स्कीको भनाइ छ। उनले रुसविरुद्धको लडाइँमा युक्रेनले विजय हासिल गरेरै छाड्ने समेत दाबी गरेका छन् ।
जेलेन्स्कीले सम्बोधन गरिरहँदा अमेरिकी सांसदरुले पटक पटक ताली बजाएर र आफ्नो आसनबाट उठेर सम्मान व्यक्त गरेका थिए ।
त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले रुसविरुद्धको लडाइँमा युक्रेन एक्लै नहुने बताउँदै अमेरिकाको साथ चाहिंदासम्म आफूहरुले साथ दिने बताएका थिए ।
युक्रेनलाई थप दुई अर्ब अमेरिकी डलरसहितको सैन्य सहयोग गर्ने पनि उनले बताए । यो सहयोगमा जमिनदेखि आकासमा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली समावेश रहेको बीबीसीले जनाएको छ ।