‘चि मुसी चि’ को सुटिङमा प्रियङ्काले असाध्यै तितौरा किन खाइन् ?
काठमाडौँ – नेपाली हरर चलचित्र ‘चि मुसी चि’ को सुटिङको बेला नायिका प्रियङ्का कार्कीले असाध्यै तितौरा खाएको खुलाएकी छन् । उनले चलचित्रको ट्रेलर सार्वजनिक गर्ने क्रममा आफूले असाध्यै तितौरा खाएको खुलाएकी हुन् ।
‘मैले यो चलचित्र सुटिङका बेला असाध्यै तितौरा खाएँ । किन भने म गर्भवति थिएँ’ चलचित्रको ट्रेलर सार्वजनिक गर्दै उनले भनिन् । चलचित्रको सुटिङका बेला उनी मात्र नभएर अर्की नायिका रिचा शर्मा पनि गर्भवति रहेको उनले खुलासा गरेकी छन् ।
उनीहरु दुबै जना गर्भवति भए पनि एक अर्कालाई खबर गरेका थिएनन् । प्रियङ्काले धेरै बान्ता गरेको पनि खुलाएकी छन् । यस्तै, अर्की नायिका रिचा शर्माले आफ्नो पेटमा भएको बच्चामा कुनै नेगेटिभ असर पर्छ कि भन्ने विषयमा पनि सधै चिन्तित रहेको बताइन् ।
‘हरर चलचित्र भएपछि नेगेटिभ इनर्जीसँग खेल्नु पर्ने । आफू पनि नेगेटिभ भएर अभिनय गर्नु पर्ने भएकाले बेलाबेला पेटमा भएको बच्चालाई पनि नेगेटिभ असर पर्छ कि भन्ने चिन्ता लागिरहन्थ्यो,’ उनले सुनाइन् ।