पाँच महिनामा ६ खर्ब व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा ६ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा भने १८.७७ प्रतिशतले कम भएको छ ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आयात कम भएकोले व्यापार घाटा कम देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । गत आर्थिक वर्षको ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०।७१ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको तुलनामा निर्यात पनि घटेको छ । विभागका अनुसार मंसिरसम्ममा ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।