दलको निर्वाचनबारे गगन थापाको टिप्पणी- 'यो अन्त्य होइन प्रारम्भ हो'
काठमाडौँ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको निर्वाचनसँगै पार्टीलाई गतिशील बनाउने अभियान प्रारम्भ भएको बताएका छन् ।
थापाले सामाजिक सञ्जालमार्फत पार्टी गतिशील भइदियोस् भन्ने आम चाहना अनुरुप किन अपेक्षित परिणाम आउन सकेन भन्ने विषयमा समीक्षा गर्दै नयाँ ढङ्गले पार्टीलाई गतिशील बनाउन हामी निरन्तर प्रयत्नशील रहने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो अन्त्य होइन प्रारम्भ हो । पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको छ । यो निर्वाचनले त्यो यात्रामा थप गति दिएको छ, बल पुर्याएको छ। थापाले निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित नहुने धारणासमेत राखेका छन् ।
थापाले अत्यन्त सौहार्दपूर्ण ढङ्गले सम्पन्न संसदीय दलको निर्वाचनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई थप सुदृढ बनाएको बताएका छन् ।