पाँच महिनामा १० वटा भन्सार कार्यालयबाट निर्यात शून्य
काठमाडौं- नेपालको व्यापार सन्तुलन कति बिग्रेको छ भन्ने नतिजा सरकारी कार्यालयहरूले नै सार्वजनिक गर्न थालेका छन् । अर्थमन्त्रीदेखि सबै सरकारी नीति निर्माताहरू आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने बताइरहँदा १० वटा भन्सार कार्यालयले भने एक रुपैयाँ बराबरको पनि निर्यात गरेका छैनन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मङ्सिरसम्म) मा नेपालका १० भन्सार कार्यालयबाट एक रुपैयाँ बराबरको पनि वस्तु निर्यात भएको छैन । जबकि तिनै भन्सार कार्यालयहरूबाट यो अवधिमा आयात भने निकै धेरै रकम बराबरको भएको देखिन्छ ।
यसरी एक रुपैयाँ बराबरको पनि निर्यात नहुने भन्सार कार्यालयहरूमा झापाको भद्रपुर भन्सार कार्यालय, जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, राजविराज भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय, सती भन्सार कार्यालय, सिरहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, तातोपानी भन्सार कार्यालय र टाँडी भन्सार कार्यालय छन् ।
यी भन्सारमध्ये रसुवा र तातोपानी भन्सार कार्यालय चीनसँग नाका जोडिएका छन् भने बाँकी भारतसँग नाका जोडिएका भन्सार कार्यालय हुन् । भन्सार विभागले नेपालका विभिन्न स्थानमा गरी जम्मा २६ वटा भन्सार कार्यालय स्थापना गरेको छ ।
यी भन्सार कार्यालयबाट निर्यात नभए पनि आयात भने ठूलो रकमको भएको छ । विभागले दिएको जानकारीअनुसार, भद्रपुर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ५ महिनामा ५ करोड ३२ लाख, जनकपुर भन्सार कार्यालयबाट ३० करोड ४४ लाख रुपैयाँ, महेशपुर भन्सार कार्यालयबाट १७ करोड ३६ लाख र राजविराज भन्सार कार्यालयबाट १ करोड ४६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
यस्तै, रसुवा भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ५ महिनामा १ खर्ब ११ अर्ब १३ कराड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा भएको कुल आयातको १.६७ प्रतिशत रकम बराबरको आयात रसुवा भन्सार कार्यालयबाट भएको छ ।
यो भन्सार नाका चीनबाट नेपालमा वस्तु आयात हुने प्रमुख नाका हो । तर, यही नाकाबाट चीनतर्फ भने एक रुपैयाँ बराबरको पनि वस्तु निर्यात नभएको हो ।
एक रुपैयाँको पनि निकासी नगर्ने सती भन्सार नाकाबाट भने १० करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै, सिरहा नाकाबाट ५ करोड ७५ लाख र सुनसरी भन्सार नाकाबाट ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
चीनसँग नाका जोडिएको तातोपानी भन्सारबाट पनि यो अवधिमा एक रुपैयाँ बराबरको पनि वस्तु निकासी भएको छैन । तर, यही भन्सार नाकाबाट चालु आर्थिक वर्षको ५ महिनामा ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
२०७२ को भूकम्पपछि चीनले यो नाका खुलाउन खासै चासो दिएको छैन भने चीनसँगको अर्काे प्रमुख नाका रसुवामा पनि बेला बेलामा समस्या आउने गरेको छ । यस्तै, टाँडी भन्सार नाकाबाट २ करोड ६७ लाख रुपैयाँ बराबरको वस्तु आयात भए पनि एक रुपैयाँ बराबरको पनि वस्तु निर्यात भएको छैन ।