Nic Ad Nic Ad
Nic Ad Nic Ad

विमानमा यस्तो देखिए चार्ल्स शोभराज, 'पेरिसमा क्रिसमस मनाउँछु'

उनी दिनभर सञ्चार माध्यमबाट भागेका थिए
शुक्रबार, पुस ८, २०७९

काठमाडौं । ५० हजार रुपैयाँ जरीवानासहित १० वर्ष नेपाल आउन नपाउने गरी 'डिपोर्ट' भएका चार्ल्स शोभराजले पेरिसमा गएर क्रिसमस मनाउने बताएका छन् ।

 

शुक्रबार विमानस्थलमा कतार उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीसित शोभराजले खुसी हुँदै पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् । कतार एयरवेजको साँझ ६ बजेको क्यूआर–६४७ उडानमार्फत उनलाई स्वदेश 'डिपोर्ट' गरिएको हाे । दोहामा शोभराजको ट्रान्जिट हुनेछ ।

 

काठमाडौँस्थित फ्रेन्च दूतावासले शोभराजको यात्राका लागि आवश्यक ‘ट्राभल डकुमेन्ट’ जारी गरिदिएपछि उनलाई स्वदेश पठाइएको अध्यागमन विभागले जनाएको छ।

तस्वीर स्रोतः एएफपी

 

उनी दिनभर सञ्चार माध्यमबाट भागेका थिए । उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकारको अघि नपरेको पनि बताएका अध्यागमनका एक कर्मचारीले बताए ।

 

‘बिकिनी किलर’ भनेर अन्तरराष्ट्रिय रुपमा चिनिएका उनलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो । विभागका अनुसार, शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।

 

नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्रराेन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १९:४९
प्रतिक्रिया दिनुहोस्