Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ महिनाको अवधिमा ‘नो अब्जेक्सन लेटर’ लिने ३८ हजारभन्दा बढी

शनिबार, पुस ९, २०७९

काठमाडौँ– चालु आर्थिक वर्षको ५ महिनामा ‘नो अब्जेक्सन लेटर (एनओसी’ लिनेको संख्या ३८ हजारभन्दा बढी छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजारभन्दा बढीले एनओसी लिएका हुन् । 

 

मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका अनुसार  गत साउनदेखि मङ्सिर मसान्तसम्म एनओसी लिएकाहरूबाट राज्यले ८ करोड २१ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यस अवधिमा १ हजार ५५८ जनाको नो अब्जेक्सन लेटर रद्द भएको छ।

 

शाखाका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा करिब १ लाख १४ हजार जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए ।

 

पछिल्लो समय यस अवधिमा ५९ मुलुकका लागि ‘नो अब्जेक्सन लेटर’ लिइएको छ। सबैभन्दा बढी अस्ट्रेलियाका लागि यस्तो पत्र लिनेहरू छन् । अस्ट्रेलिया जान १० हजार ७९९ जनाले पत्र लिएका छन् ।

 

जापानका लागि ६ हजार ६२५ जना, क्यानडाका लागि ६ हजार ५३१ जना, बेलायतका लागि ५ हजार ३०४ जनाले यस्तो पत्र लिएका छन् । भारतका लागि १ हजार ९० जना, युएईका लागि ९१३ जना, रुसका लागि ९७२ जना, कोरियाका लागि ७४४ जना तथा न्युजिल्यान्डका लागि ३९६ जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् ।

 

सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि १/१ जनाले यस्तो पत्र लिएका छन् । 

 

अमेरिकाका लागि १ हजार ५५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ घटेको देखाउँछ । कुनै बेला सबैभन्दा बढी ‘नो अब्जेक्सन लेटर’ लिने मुलुकमा अमेरिका पर्थ्याे । पछिल्लो तथ्यांकले विद्यार्थीको आकर्षण अस्ट्रेलियातर्फ बढेको प्रष्ट देखाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०६:४३
प्रतिक्रिया दिनुहोस्