जब व्यक्तिगत भ्रमण साहित्यिक भयाे...
कुरा भर्खरकै हो– यही नोभेम्बर (सन् २०२२) महिनाको । एउटा बिहेको निम्तो मान्न एकदमै छोटो समयका लागि म नेपाल जानुपर्ने भयो ।
नेपाल पनि पूर्वी नेपालको झापा– म, श्रीमती र माइला ज्वाइँ ।
२४ नोभेम्बरमा छेउको स्टेसन लंकाबाट रेल चढियो । भोलिपल्ट बिहान ४ बजे न्यु जलपाइगुडी पुगियो । त्यहाँबाट सानो गाडी लिएर नेपाल सीमातर्फ लागियो ।
भारत सीमान्तमा प्रमाण खोज्यो । आधार कार्ड देखाएपछि जान दियो । अब नेपाल छिर्ने बेलामा कोरोना खोप कार्ड खोज्यो । हाम्रो थियो, जान दियो । तर कार्ड नहुनेहरूलाई नाक खोतलेरै छोड्यो । नाक छेडिमाग्ने यात्रुले ती कर्मचारीलाई सराप्नुसम्म सरापे ।
हामीचाहिँ ‘कतै हिँड्दा खोप कार्ड नबोकी हिँड्नेहरूलाई ठिकै त पार्यो’ भन्दै हँस्यौली गर्दै गयौँ ।
झापाको चन्द्रगढी छेउबाट आफन्तको बिहेमा जन्ती पनि गइयो, सुनसरीको खनार– २८ नोभेम्बरका दिन ।
त्यतातिर बिहेको जन्ती जाँदा धेरजसोले दौरा–सुरुवाल, कोट, टोपी लगाउँदा रहेछन् । हल्ला त सुनेकै थिएँ । क्या हो क्या हो, भनेर मैले पनि ती पोसाक लिएरै गएको थिएँ र लगाएरै गएँ ।
युवाहरूले भने साधारण पोसाक नै लगाएका थिए । सुरुवाल लगाएर टाढा बाटो जानुपर्दा चाहिँ अप्ठ्यारै हुँदोरहेछ बेला–बेला । लङ प्यान्ट लगाएजस्तो होइन रहेछ । हुन त बानी नभएर पनि होला, आफूलाई त्यस्तो लागेको ।
जन्ती गएर लखतरान परेकाले म ओछ्यानमा भुक्लुक्क सुतेँ र निद्रा नलागुन्जेल फेसबुकका पाता पल्टाउन थालेँ– कसले के लेखेछ भन्दै ।
नभन्दै एकठाउँ डा. गोविन्दराज भट्टराईको स्टाटस भेटेँ । उहाँले दमकको घरमा आइपुगेर मणिपुरको सम्झना झलझली आएको लेख्नुभएको रहेछ । मलाई त्यसका तल कमेन्ट ठोक्न मन लाग्यो यसरी– ‘म पनि झापा आएको छु ।’
बस्, त्यहीँबाट मेरो साहित्यिक यात्रा सुरु हुन्छ । त्यो कमेन्ट देख्नेबित्तिकै भट्टराई सरले मलाई म्यासेन्जरमा कल गर्नुभयो– ‘तपाईँ झापाको कुन ठाउँमा हुनुहुन्छ ? कति दिन हुनुहुन्छ ? तपाईँ दमक आउनुस् न ।’
मैले उत्तर दिएँ– ‘म अहिले चारआली भन्ने ठाउँमा छु । मेरो कतै जाने समय छैन । म असम फिरिहाल्छु । फेरि–फेरि आउँदा भेट गरुँला नि सर !’
उहाँले तुरुन्तै भन्नुभयो– ‘नेपाल आउँदा तपाईँ त्यसरी लुकेर बस्नुहुँदैन । यहाँका स्रष्टाहरूसित भेटघाट गर्नुपर्छ । चिनजान हुनुपर्छ । म कार्यक्रम ठीक गर्छु । तपाईँ आउनुपर्छ । कहिले समय दिनुहुन्छ ?’
म अकमक्क परेँ । समय थिएन । तैपनि डा. गोविन्दराज भट्टराईजस्ता प्रसिद्ध साहित्यकारले यति आग्रह गरेपछि मैले जसरी भए पनि समय त निकाल्नैपर्यो ।
हुन त त्यसरी भेटघाटै गर्नुपर्ने खालको साहित्यकार त म हुँदै होइन । तर पनि सरले मलाई त्यत्रो महत्त्व दिनुको कारण मैले बुझ्न सकिनँ ।
जे होस्, मैले सरका लागि ३० नोभेम्बरको दिन अरू केही ठाउँ आत्मीयहरूलाई भेट्न जाने कार्यसूची रद्द गरेर समय उबारें । उहाँले त्यस दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्मको कार्यक्रमको समय तोकेर जानकारी गराउनुभयो । मैले स्वीकृति जनाएँ– लाज मान्दै– मान्दै ।
बेलुकीखेर मलाई एउटा फोन आयो– धुलाबारीबाट । हामीलाई चारआलीबाट दमकको कार्यक्रम स्थलसम्म उहाँले पुर्याउने रे ! गोविन्दराज सरले भन्नुभएको रे !
त्यसरी नै मेरा २ ज्वाइँ यज्ञ सापकोटा र थानेश्वर गौतमसहित हामी ३ जना बिहान १० बजे गाडी लिएर चारआली पुग्यौँ । हिजो भनेका मानिसले चारआलीमा हाम्रो बाटो कुरिरहनु भएको रहेछ ।
अब हामी ४ जना भएर दमकतर्फ लाग्यौँ । हामीलाई लिएर जाने मानिसले पहेँलो वस्त्र लगाउनु भएको थियो । खुट्टामा जुत्ता चप्पल थिएनन् । भनौँ, खाली खुट्टा थिए । दाह्री कपाल पालेका । आधासह्रो पाकेका । त्यही ७३/७४ उमेर भएका । भात नखाने । फलमूल मात्र खाएर बाँच्ने ।
बात मार्दै जाँदा थाहा लाग्यो, उहाँले खाली खुट्टैले २ पटक पूरै नेपाल भ्रमण गर्नुभएको रहेछ । उहाँकै प्रयासमा वा नेतृत्वमा धुलाबारीमा त्रिफला राष्ट्रिय पुस्तकालय खडा भएको रे ! नामचाहिँ रहेछ– प्रेमप्रकाश फलाहारी ।
१ जना साधु भेषका मानिसका मुखका ठुल्ठुला कामका कुरा सुनेर पत्याऊँ कि नपत्याऊँ हुँदै हामी दमक पुग्यौँ ।
गाडीबाट ओर्लनेबित्तिकै हाम्रा आँखा पुगे– एउटा साइनबोर्डमा । लेखिएको थियो– ‘डाइनामिक पाब्लिक लाइब्रेरी’ ।
भट्टराई सर र अन्य मित्रहरूले हामीलाई स्वागत गरेर लाइब्रेरीभित्र लिएर जानुभयो । त्यहाँ टाँगिएको ब्यानर देखेर सर्वप्रथम त म आश्चर्यचकित भएँ । किनभने त्यहाँ मेरो फोटो छापिएको थियो र लेखिएको थियो– स्रष्टा डम्बर दाहालसँग भेटघाट र अन्तक्र्रिया कार्यक्रम ।
उहाँहरूले मलाई त्यत्रो सम्मान दिएकामा म अभिभूत भएको थिएँ । पुग्नेबित्तिकै साहित्यकार मित्रहरूसित परिचय एवं पुस्तक ग्रहण कार्य हुन थाल्यो । यो थियो– क्षणिक अनौपचारिक कार्यक्रम ।
औपचारिक स्वागत कार्यक्रम प्रारम्भ गर्नुभयो भट्टराई सरले । अध्यक्षता गर्नुभयो डाइनामिक पाब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपाने सरले । भेषराज सर दिव्यांगी हुनुहुँदो रहेछ । हात, खुट्टाले काम नगर्ने ।
२०६१ सालमा घरकै बार्दलीबाट खसेर मेरुदण्डमा पक्षाघात भएको रहेछ । ३५ दिनपछि उहाँको होस आएको रहेछ । निकै वर्षको उपचारपछि उहाँलाई लागेछ– ‘म अब जीवनभर थलिनुपर्ने छ । ओछ्यानमै छटपटिएर अर्थहीन जीवन बाँच्नुभन्दा बरु समाजलाई काम लाग्ने केही काम गर्छु । पुस्तक अध्ययन गर्छु । पुस्तकालय खोल्छु । सामाजिक व्यक्ति भएर बाँच्छु ।’
यही मनसाय लिएर उहाँले आफ्नै घडेरीमा आफ्नै खर्चमा ‘डाइनामिक पाब्लिक लाइब्रेरी’ स्थापन गर्नुभएको रहेछ । समय समयमा यहाँ साहित्यिक कार्यक्रम भइरहँदो रहेछ । राम्रो सभाकक्ष पनि रहेछ ।
दिव्यांगी भएर पनि सामाजिक चिन्तन तथा जातीय चिन्तन बोकेका भेषराज सरको वक्तव्य सुन्दा मेरा आँखा नजानिँदो गरी रसाएका थिए ।
कुनै पनि स्रष्टा दमक पुग्दा उहाँको लाइब्रेरीमा पुगी उहाँलाई शुभेच्छा दिनु उचित हुन्छ भन्ने लाग्छ मलाई ।
मलाई गर्व लाग्छ यस कुरामा– सुरुदेखि अन्त्यसम्मको कार्यक्रममा गोविन्दराज सरले नै उद्घोषण गर्नुभएको थियो । उद्घोषण पनि नौलो किसिमको । प्रवीणलाई योग्य सम्मान र नवीनलाई प्रचुर प्रेरणा र उत्साह । यस्ता कार्यक्रम साधारणतया बयोज्येष्ठ साहित्यकारहरूले उद्घोषण गर्दैनन् ।
यो काम संस्थाका सचिव अथवा पेसेवर उद्घोषकलाई सुम्पिइन्छ । तर यहाँ डा. गोविन्दराज भट्टराईजस्ता प्रबुद्ध साहित्यकारले उद्घोषण गर्नु भनेको मेरो भाग्यले नै जुराएको हो भन्ने लागेर छाती ढक्क फुल्यो ।
जे होस्, कार्यक्रममा मलाई खादाले स्वागत गरेपछि मेरो परिचय एकजना अपरिचित स्रष्टा वैदिक अत्रीले रिट्ठो नबिराई दिनुहुन्छ । उहाँ पहिला पूर्वी असमको धौलाका हुनुहुँदो रहेछ । मलाई अलिअलि चिन्नुहुँदो रहेछ । उहाँको एउटा कवितासंग्रह पनि प्रकाशित रहेछ– ‘प्रेमको आकाश’ । त्यसैबाट एउटा कविता वाचन गर्नुहुन्छ ।
दमककै स्रष्टा लक्ष्मीप्रसाद खनालज्यूले आफ्नो लोकगीतसंग्रह ‘पूर्वेली भाका’ बाट एउटा गीत गाएर सुनाउनु हुन्छ–
‘रुमाल चिनो छ, बुट्टे रुमाल चिनो छ
त्यै रुमाल कान्छीलाई हातमा दिनु छ’
सौभाग्यवश त्यहाँ जागुनका कलाकार प्रभाकर न्यौपाने पनि बरदुमसाका दीपक बोगटीसित पुग्नुभएको थियो र ‘ए फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि !’ गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्नुभयो ।
कार्यक्रममा धेरै कविले उत्कृष्ट कविता वाचन गर्नुभयो, जसले गर्दा स्वागत कार्यक्रम काव्यमय भएको थियो ।
हुन त मैले पनि गोडा दुएक कविता तयार पारेको थिएँ– वाचन गर्नुपर्ला कि भनेर । तर परेन, राम्रै भयो ।
अरू कविता सुनेपछि मेरो कविताले मलाई नै तल झार्छ कि भन्ने लागिरहेको थियो । त्यहाँ निकै जना प्रबुद्ध व्यक्तिहरूले वक्तव्य राख्नुभयो, जसमध्ये डा. अञ्जना वस्ती भट्टराई गुरुआमा पनि हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा मैले बोल्नुपर्यो । बोल्नलाई उद्घोषक सरले मलाई २० मिनेट समय तोक्नुभयो । अरू वक्ताहरूलाई दुई–अढाई मिनेट मात्र समय दिनुभएको थियो । मैले त्यसमा प्रश्न तेस्र्याएँ– ‘२० मिनेट नाघ्यो भने सर ?’
उहाँले सहज रूपमा भन्नुभयो– ‘लौ त तपाईँका लागि अरू २० मिनेट प्लस ।’ भन्दै जाँदा मेरो वक्तव्य ४२ मिनेटको भएछ ।
लामो वक्तव्य भए पनि सबैले ध्यान दिएरै सुनेको देखेँ । अझ प्रेमप्रकाश फलाहारीज्यूले त यसो पो भन्नुभयो– ‘तपाईँको वक्तव्य एकदमै सुन्न लायक थियो । हामीले असमका विषयमा धेरै कुराहरू जान्न पायौँ । तपाईँलाई लिएर हामी धुलाबारीमा पनि कार्यक्रम राख्छौँ ।’
हुन त मैले काठमाडौँको शीतल निवासमा ५ मिनेट, काठमाडौँकै प्रज्ञाप्रतिष्ठानको एउटा र्यालीमा ३ मिनेट र गुवाहाटीको रवीन्द्र भवनमा मुख्यमन्त्री भएको सभामा ३ मिनेटको भाषण दिएको थिएँ । कतै–कतै फेरि एक–डेढ घन्टासम्म जान्थ्यो । तैपनि मानिसले सुन्थे ।
जे होस्, त्यस भेटघाटमा मैले निकै वटा किताब उपहारमा पाएँ । तीमध्ये मलाई लेखनमा सहायक हुने पुस्तकहरू हुन्– प्रा. गोविन्दराज भट्टराईको ‘निर्वाचित निबन्धावली’, हेम अधिकारीको ‘क्रियाको रूप विश्लेषण’, ‘त्रिफला दर्पण–इन्द्रबहादुर राई स्मृति अंक’, नारायणप्रसाद शर्मा फुँयालको ‘केही नवीन कृति समीक्षा’, कमलराज भट्टराईको ‘सम्झनाका गोरेटामा छब्बिस पाइलाहरू’, डा. अञ्जना बस्ती भट्टराईको ‘समय संवेग’, डा. लेखनाथ नेउपानेको ‘स्वस्थ कसरी रहने’, लक्ष्मीप्रसाद खनालको ‘पूर्वेली भाका’ आदि ।
कुनै समयमा सिलोङबाट ‘मेघमाला’ अंग्रेजी पत्रिका निकाल्ने खेमलाल पोख्रेलज्यूसित पनि त्यहाँ मेरो भेट भयो । उहाँले अंग्रेजी र नेपालीमा साइनो संग्रह निकाल्नुभएको रहेछ । साइनो भनेको नेपाली कविताको एउटा उपविधा हो । यो हाइकु जस्तै जस्तै भए पनि यसका ३ पंक्तिमा ७–८–९ अक्षर हुन्छन् । यसका प्रवर्तक हुन्– छायादत्त नेउपाने बगर ।
पूरै ३ घन्टासम्म चलेको यो भव्य स्वागत कार्यक्रमपछि हामी सताक्षीधाम दर्शन गर्न पुग्यौँ । सताक्षीधामका प्रमुख व्यवस्थापक हुनुहुन्छ– आचार्य नन्दकिशोर भरद्वाज ।
सम्बन्धमा उहाँ मेरा ज्वाइँ हुनुहुन्छ । उहाँले मेरा काँइला दाजुकी छोरी बिहे गर्नुभएको छ । सताक्षीधामको बेस्याहार भूमिलाई उहाँले व्यवस्थित गर्नुभएको छ । भ्रमण वा दर्शन गर्न लायक बनाउनुभएको छ ।
त्यहाँ मन्दिर, अतिथिशाला, १०८ तुलसीका मठ, गुरुकुल शिक्षानुष्ठान आदि हुनुका साथै ७०० वटा गाईको गौशाला रहेछ ।
प्रसंगवश भन्नुपर्दा उहाँकै सञ्चालनमा मैले दिल्लीमा पनि २०१९ मा यस्तै गौशाला देखेको थिएँ ।
आचार्यज्यूले हामीलाई पुग्नेबित्तिकै धार्मिक वस्त्र, प्रसाद आदिले स्वागत गर्नुभयो । फलाहारीज्यू र मलाई ससम्मान गाई–बाछाको प्रतीक पनि प्रदान गर्नुभयो ।
त्यो ठाउँ झिलझिले छेउको राजमार्गबाट ५ किलोमिटर उत्तरतिर पर्दोरहेछ । बाटो सुन्दर रहेछ ।
त्यहाँदेखि बिदा भएर हामी फलाहारीज्यूको एकान्त आग्रहमा सोझै धुलाबारी त्रिफला राष्ट्रिय पुस्तकालयमा पुग्यौँ ।
पुस्तकालयको स्वरूप देखेर हामी तीनछक पर्र्यौँ । हामीलाई चारआलीदेखि दमक पुर्याउने साधुको यत्रो पहुँच हुनसक्छ भन्ने कुराको हामीलाई अन्दाजै थिएन ।
मैले त सोचेको थिएँ– घरको एउटा कोठामा २–४ सय किताब होलान्, त्यसैलाई त्रिफला राष्ट्रिय पुस्तकालय भनिएको होला ।
तर मेरो सानो बुद्धिले काम गरेनछ । पुस्तकालयको घरै रहेछ ४ तल्लाको । जताततै व्यवस्थित तरिकाले राखिएका किताबका थाक । ५० हजार किताब । हातले लेखेका सयौँ पुराना किताब । पत्रपत्रिका पनि । लेखक वा संस्थाहरूले भ्रमणमा आएका स्रष्टाहरूलाई दिनु भनेर राखिएका किताबहरू पनि असंख्य ।
पुस्तकालयको प्रवेशद्वारमै सही गर्ने व्यवस्था रहेछ । त्यसपछि फलाहारीज्यूले आफैँ हामीलाई सारा पुस्तकालयका कोठा–कोठा घुमाउनुभयो । एउटा तल्लामा सभाकक्ष पनि रहेछ सुन्दर किसिमको । सिरानको तलामा काठमाडौँ कक्ष, सिक्किम कक्ष, आसाम कक्ष र अन्यान्य ठाउँका नाममा कक्षहरू निर्माण भइरहेका रहेछन्– किताब राख्न र बास बस्न सक्ने गरी ।
बर्सेनि नेपालका २ जना र बाहिरका १ जनालाई पुस्तकालयका तर्फबाट पुरस्कृत गर्ने व्यवस्था पनि रहेछ । फलाहारीज्यूकै तत्त्वावधानमा अनुदानबाट आएका पुँजीले पुस्तकालय भवन निर्माण हुँदोरहेछ । एउटा समिति पनि रहेछ ।
भवनअगाडि मोतीराम भट्टको र अर्का १ जना दानवीर व्यक्तिको पूर्णांग शालिक पनि रहेछ । एउटी क्याम्पस पढ्ने विद्यार्थी बहिनीले स्वेच्छाले पुस्तकालयमा सेवा पुर्याउँदी रहिछन् ।
उनले हामीलाई मीठो चिया–बिस्कुट खुवाएर कर्तव्य निष्ठाको परिचय दिइन् । मैले उनलाई पुस्तकालयलाई पुर्याएको निःस्वार्थ सेवाका निम्ति धन्यवाद र उत्साह दिएँ । छुट्ने बेलामा फलाहारीज्यूले फेरि आउँदा २–४ दिनअगावै सूचना दिएर आउने आग्रह गर्नुभयो र सम्पर्कका निम्ति काँकडभिट्टाका रामप्रसाद दाहालको भारतीय फोन नम्बर दिनुभयो । मैले सम्मति जनाएँ ।
अब भने उहाँमा मैले एक महान् व्यक्तिको रूप देखेँ । कास् ! यस्ता मान्छे हाम्रा समाजमा जताततै हुन्थे भने ।
भोलिपल्ट अर्थात १ डिसेम्बर, २०२२ का दिन हामी सिलगुडीबाट रेल चडेर हासिमारा हुँदै जयगाउँतर्फ लाग्यौँ । सिलगुडीबाट हासिमारासम्म रेलमा ३ घन्टाजति लाग्दो रहेछ ।
हासिमाराबाट जयगाउँ मंगलबारे टमटममा गयौँ– जिल्ला पश्चिम बंगालको आलिपुरदुवार । त्यहाँ मेरी साइँली दिदी हुनुहुन्छ– ८६ वर्षीया । भर्खरै बिमारले पल्लै छेउ पुगेर फिर्नुभएको ।
२ डिसेम्बरका दिन हामी जयगाउँ सहर डुल्यौँ । ठुलै रहेछ सहर । मानिस र दोकानको घुँइचो । जयगाउँमा विवेकानन्द, सुभाष बोस र दुर्गा मल्लको शालिक देख्न पाइयो । दुर्गा मल्लको शालिक छेउमा फोटो पनि खिच्न मन लाग्यो हामीलाई ।
जयगाउँ पुगिसकेपछि भुटान नछिरी कसरी आउनु ? एउटै सहरका दुई पाटा । यता जयगाउँ, उता फुन्चुलिङ । बीचमा सिमाना ।
प्रायः १२/१५ वर्षअघि भुटानको सिमानामा सजिलै छिर्न दिन्थ्यो । तर आजभोलि अलि गाह्रो रहेछ । सिमानामा निकै औपचारिकता निभाउनुपर्ने भएछ । भोटर लिस्ट नभए जान पाइने रहेनछ । त्यही पनि सक्कली । मोबाइलमा वा जेरक्स गरेको भए पनि नमान्ने । कम्प्युटरमा अपलोड गर्दो रहेछ ।
जाँदा–आउँदा नै १०/१० रुपैयाँ तिर्नुपर्दो रहेछ । सँगै जाने ज्वाइँ भोटर लिस्ट नबोकेकाले जान पाउनु भएन ।
म, श्रीमती र जयगाउँकी भान्जी बुहारीचाहिँ भुटान पस्यौँ । पार्क हेर्यौँ । गुम्बा हेर्यौँ । चक्का घुमायौँ । भोटेहरूले बक्खु लगाएर माला जपेको हेर्यौँ । भुटानी बनोटका घरहरू हेर्यौँ ।
पहिले जाँदा भुटानको पत्रिका ‘कुइनसेल’ किनेको थिएँ– नेपाली र अंग्रेजी भाषाको । तर कोरोनापछि यो पत्रिका निस्किन छाडेको थाहा पाइयो । एउटा दोकानेले त्यसै भन्यो । हो कि होइन थाहा छैन ।
भोलिपल्ट ३ डिसेम्बरका दिन न्यु आलिपुरदुवारबाट बिहान ७ बजे रेलमा चढेर बेलुकी ४ बजे लंका आइपुगियो ।
यसरी व्यक्तिगत भ्रमण नै संयोगवश साहित्यिक एवं अन्तर्राष्ट्रिय भ्रमण भएपछि, खै के भनुँ ?