स्वास्थ्य पूर्वाधारमा ध्यान दिन आवश्यक छ : प्रधानमन्त्री देउवा
काठमाडाैँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मोत्सवका अवसरमा शनिबार ललितपुरको बाँडेगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
उनले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउन सरकारले काम गरिरहेको बताए ।
ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री देउवाको भनाइ छ । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरूसँग काम गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको जिकिर गरे । प्रधानमन्त्री देउवाले आजै किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भसमेत गरेका छन् ।