बजार ग्यारेन्टी गर्न गुल्मीमा सुन्तला महोत्सव
गुल्मी– कृषकको आयआर्जनमा वृद्धि, विकास तथा आन्तरिक पर्यटन बढाउँदै सुन्तलाको बजारीकरण गर्ने उदेश्यले गुल्मीमै पहिलो पटक सुन्तला महोत्सव गरिएको छ ।
‘सुन्तला खेतीको भू–अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास’ भन्ने नाराका साथ ७ पुसमा छत्रकोट गाउँपालिका– ३ लुम्छामा एक दिने सुन्तला महोत्सव गरिएको हो ।
गाउँपालिका हुँदै जिल्लाभित्र उत्पादित सुन्तालाको बजारीकरणमा टेवा पु¥याउने हेतुले महोत्सव आयोजना गरिएको अनमोल कृषि समूहले जनाएको छ ।
कृषकले उत्पादन गरेको कृषि उपज तथा सुन्तलाको बजारमा व्यापारीले आफ्नो मनोमानी दरभाउ गर्ने र उचित मूल्य नपाउने गरेको कृषक विष्णुप्रसाद कँडेलले गुनासो गरे । उनले भने, ‘पछिल्लो समय सुन्तला खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर उत्पादनअनुसार सुन्तलाको मूल्य नपाउने र बजारीकरणमा समस्या हुँदा हामी मर्कामा छौँ ।’
सुन्तला महोत्सवमा सुन्तला खाने, बोक्ने, स्थानीय लाखे नाच र पञ्चेबाजालगायत प्रतियोगिता राखिएको थियो । सुन्तला कृषकलाई खेतीमा उत्साहित गरी बजारीकरणको ग्यारेन्टी, स्थानको पहिचान तथा कृषि पर्यटनको विकासका लागि सुन्तला महोत्सव आयोजना गरिएको अनमोल कृषि समूहका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
छत्रकोट गाउँपालिकामा करिब ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ । यस क्षेत्रबाट गत वर्ष १ करोड २७ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको थियो भने यस वर्ष १ करोड ४५ लाख बराबरको सुन्तला निर्यात गर्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको सुन्तला जोनमा २०६ वटा समूह सहकारी आबद्ध रहेको कार्यालय प्रमुख गंगा पोखरेलले जानकारी दिइन् । कार्यालय प्रमुख पोखरेलका अनुसार जिल्लामा सुन्तला खेती विस्तारका लागि चक्लाबदीलगायत कार्यक्रमबाट १ हजार १०५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । जसमध्ये ४१७ हेक्टरमा उत्पादन भइरहेको छ ।