प्रधानमन्त्रीबाट पछि नहट्ने ‘मुड’ मा प्रचण्ड, दबाब दिन सांसदहरुको हस्ताक्षर संकलन
काठमाडौँ– नयाँ सरकारको प्रधानमन्त्रीमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो दाबी नछाड्ने भएका छन् । उनले पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बन्न दबाब दिन थालेका छन् । गठबन्धनबाट पहिलो दल बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रोकेर आफु प्रधानमन्त्री बन्ने दाउमा प्रचण्ड छन् । तर, देउवा पनि आफु स्वभाविक रुपमा गठबन्धनबाट प्रधानमन्त्री बन्नेमा ढुक्क देखिन्छन् ।
यसअघि गोरखा–२ बाट प्रतिनिधि सभामा निर्वाचित भएर विभिन्न सार्वजनिक कार्यक्रममा माओबादी अध्यक्ष प्रचण्डले आफुले मुलुकको कार्यकारी भूमिकामा पुग्ने उद्घोष गर्दै आएका थिए । गठबन्धनका छलफल र बैठकमा पनि प्रचण्डले सजिलै अरुलाई प्रधानमन्त्रीमा सहमति गराइहाल्ने स्थिति बनेको छैन् ।
यति मात्र होइन्, गठबन्धनकै समर्थनमा आफु प्रधानमन्त्री बन्न माओबादीबाट निर्वाचित सांसदहरुको हस्ताक्षर संकलन समेत गर्न थालिएको छ । पाँच दलीय गठबन्धनलाई कायम राख्दै आफुले प्रधानमन्त्री नपाए बामपन्थी सरकार समेत बनाउने चेतावनी प्रचण्ड निकट स्रोतबाट सुनिन थालेको छ । नेकपा एमालेलाई साथमा लिएर भए पनि बाम सरकार गठन गर्ने र त्यसको नेतृत्व आफुले गर्नुपर्ने प्रचण्डको दाबी छ । तथापी, एमालेले भने माओबादीसँग मिलेर सरकार बनाउनेतर्फ मुख खोलेको छैन् ।