छिमेकी मुलुकमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा देखिएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको जनाएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नयाँ भेरियन्ट बीएफ ७ नेपालमा अहिलेसम्म नदेखिएको जनाएको हो ।
कोरोनाको नयाँ भेरियन्ट छिटो संक्रमण हुने खालको रहेकाले रोकथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘इसाई धर्मावलीको नयाँ वर्ष क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको विद्यमान अवस्थालाई मध्यनजर गर्दै कोभिड १९ को संक्रमणबाट बच्न बचाउन स्वास्थ्य मापदण्ड अपनाउनू’
मन्त्रालयले मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायम गर्नुपर्ने, बेला बेलामा साबुनपानीले हात धुनेजस्ता काम गर्दै कोभिड १९ को रोकथाममा जिम्मेवार भएर लाग्न अपिल समेत गरेको छ ।