राष्ट्रपति र सभामुख एमालेलाई, रास्वपालाई उपसभामुख
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति र सभामुख एमालेले पाउने भएको छ ।
प्रचण्डले आगामी साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको ओलीको सचिवालय स्रोतले जनाएको छ । दोस्रो इनिङमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले नेतृत्व गर्ने स्रोतेले जानकारी दियो ।
‘प्रधानमन्त्रीपछिको मुख्य २ पद राष्ट्रपति र सभामुख भने एमालेले पाउने गरी सहमति जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपसभामुख, राप्रपा सरकारमा सहभागी भए उपराष्ट्रपति दिने निर्णय भएको छ ।’
एमाले र एमाओवादीसहित कम्तीमा ५ वटा दल आगामी सरकारमा सहभागी हुने भएका छन् । यसैगरी जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि सरकारमा जान इच्छुक छन् ।
माओवादीको नेतृत्वमा जसपा, राप्रपा र अन्य स्वतन्त्र सांसदलाई समेत सरकारमा ल्याउने गरी छलफल भइरहेको ओलीनिकट एक नेताले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरकारमा जाने वा नजाने भनेर ठोस निर्णय लिएको छैन । यद्यपि, बहुमत पु¥याउन सहयोग गर्ने पार्टीको निर्णय छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरूको दाबी छ ।