Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेलेको परिवार अस्पतालमा, ‘बुवा मेरो बल तपाईंको हो'

आइतबार, पुस १०, २०७९

साओपाउलो– ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् । गत नोभेम्बरको अन्त्यदेखि विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी क्यान्सरसँग यहाँ सङ्घर्ष गरिरहेका छन् ।

 

चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थितिबारे अस्पतालले केही बताएको छैन ।

 

पेलेका छोरा एडिन्हो भनेर चिनिने एड्सन चोल्बी नासिमेन्टो पनि अस्पताल आइपुगेका छन् । दक्षिणी ब्राजिलको एक फुटबल क्लबका लागि काम गर्ने एडिन्होले डाक्टरहरूले मात्र आफ्नो बुबालाई मद्दत गर्न सक्ने बताएका छन् । पेलेकी छोरी केली नासिमेन्टोले आफ्ना बाबुको समीप आफू र एडिन्हा बसेको फोटो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । त्यसको केही घण्टापछि सान्तोसका  पूर्वगोलकिपर एडिन्होले आफ्नो बुबाको हात समातेको फोटो राखेर “बुवा मेरो बल तपाईंको हो,” लेखेका छन् । 

 

विश्वभर पेले भनेर चिनिने एडसन एरान्टेस डो नासिमेन्टोको सन् २०२१ को सेप्टेम्बरमा ‘कोलोन ट्युमर’ हटाइएपछि त्यो उनका अन्य अङ्गमा फैलियो वा फैलिएन भन्नेबारेमा परिवारका सदस्य र अस्पतालले केही जानकारी दिएका छैनन् । –रासस एपी

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १८:५३
प्रतिक्रिया दिनुहोस्