Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्याज घटाउन भन्दै पूर्व उद्योगीले दिए राष्ट्र बैंकको गेटमा धर्ना

सोमबार, पुस ११, २०७९

विराटनगर । बैंक तथा वित्तीय संस्थाहरुले लिने कर्जाको व्याज घटाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका पूर्वका व्यवसायीले नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयको गेटमा धर्ना दिएका छन् । व्यवसायीले सोमबार विहानैदेखि राष्ट्र बैंकको गेट अगाडि धर्ना दिएका हुन् ।

 

गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले  राष्ट्र बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका  छन् । सोमबार बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने बताएका छन् । बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् ।

 

बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ सहित तीन दर्जनभन्दा बढी संघसंस्थाले गत बिहीबारदेखि आन्दोलन थालेका थिए । सोही आन्दोलनका क्रममा राष्ट्र बैंकको गेटमा धर्ना दिइएको हो ।

 

बैंक तथा वित्तीय संस्थाको कर्जाको व्याज एकल अंकमा हुनुपर्ने उनीहरुको माग छ । पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ । स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग छन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्