नेपाल टेलिभिजनबाट आफैले हटाएका रविलाई मन्त्री बनाएर भित्र्याउँदै प्रचण्ड
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ संसदको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच अनौठो संयोग मिलेको छ ।
टेलिभिजन कार्यक्रम संचालनबाट चर्चामा आएर राजनीतिमा प्रवेश गरेका लामिछानेको पार्टी पहिलो पटकको निर्वाचनमा नै प्रतिनिधिसभामा २० सिट जित्न सफल भएको छ । सो पार्टी नयाँ सरकारमा सहभागी हुने भएको छ । र, पार्टी अध्यक्ष लामिछाने मन्त्री बन्ने भएका छन् ।
प्रचण्ड क्याविनेटको मन्त्री (सम्भवतः उपप्रधानमन्त्री) बन्न लागेका लामिछानेलाई प्रचण्डले यसअघि दोस्रो पटक प्रधानमन्त्री बनेको समयमा लामिछानेलाई टेलिभिजन कार्यक्रम संचालकबाट हटाइदिएका थिए । नेपाल टेलिभिजनमा रविले संचालन गर्ने सिधा कुरा प्रधानमन्त्री कार्यक्रमबाट प्रचण्डले लामिछानेलाई हटाएका हुन् । २०७३ सालमा प्रचण्ड दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्री कार्यक्रमबाट लामिछानेलाई निकालिएको थियो ।
लामिछानेलाई प्रचण्ड अघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा नेपाल टेलिभिजनमा सो कार्यक्रम संचालनको अनुमति दिइएको थियो । प्रचण्डले लामिछानेलाई हटाएर पत्रकार बबिन शर्मालाई सो कार्यक्रम संचालन गर्न दिएका थिए ।
यसपालि भने लामिछाने प्रचण्ड क्याविनेटको महत्वपूर्ण मन्त्री मात्रै होइन, प्रचण्ड सरकारको एक महत्वपूर्ण सत्ता साझेदार दलको रुपमा सरकारमा सहभागी हुने भएका छन् ।