Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारबाट निस्केर देउवा होटलमा बस्ने, मन्त्रालय खाली गर्दै मन्त्रीहरू

सोमबार, पुस ११, २०७९

काठमाडौं- मङ्सिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाले नयाँ सरकार गठन गरेपछि पुराना मन्त्रीहरू बाहिरिन थालेका छन् ।

 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ४ बजे शपथ ग्रहणपछि कार्यभार सम्हाल्नुअघि नै मन्त्रीहरू बिदा हुन लागेका हुन् । 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर मन्त्रालयमै पत्रकार सम्मेलन गरेर बिदा भएका छन् । यस्तै, अर्थमन्त्री जनार्दन शर्माले पनि पत्रकार सम्मेलन गरेर मन्त्रालयबाट बिदा हुने तयारी गरेका छन् ।

 

सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आज ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर बिदा हुँदै छन् । मन्त्रीहरूले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा भएका कार्यहरूको जानकारी दिने गरेका छन् ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ मन्त्रालयबाट बिदा भइसकेका छन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मी र गृहमन्त्री बालकृष्ण खाँण पनि मन्त्रालयबाट बिदा भइसकेका छन् ।

 

केही मन्त्रीहरू भने मन्त्रालय आउन छाडेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री मेटमणि चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, भूमि व्यवस्था तथा सहकारी मन्त्री शशि श्रेष्ठ मन्त्रालय आउन छोडेका सम्बन्धित मन्त्रालयले जानकारी दिएका छन् ।

 

यस्तै, सरकारी निवास बालुवाटारमा बस्दै आएका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि आजै निवासबाट बूढानीलकण्ठको एक होटलमा सर्ने बताइएको छ । देउवाको घरमा मर्मत सम्भार भइरहेकाले उनी केही दिन होटलमा नै बस्ने भएका हुन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्