Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षैपिच्छे त्रास बोकेर आउँछ कोरोना

मंगलबार, पुस १२, २०७९

काठमाडौँ– सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वभर नै आतंक मच्चायो । लाखौँ मानिसको ज्यान लियो भने पूरै विश्वको अर्थतन्त्र तहसनहस बनायो । 

 

अर्थसँग जानकार व्यक्तिहरूको दाबी मान्ने हो भने कोरोनाले गरेको आर्थिक क्षति विश्वयुद्धबाट हुनेभन्दा बढी हो । नेपालसहित सारा मुलुकले लकडाउनका नाममा घरभित्रै नजरबन्द भएर बस्नुपर्‍यो । 

 

कोभिड–१९ नाम दिइएको भाइरस आतंक केही कम भएर जनजीवन सामान्य बन्दै गरेको अवस्थामा फेरि दोस्रो लहरले जनजीवन ध्वस्त बनायो । दोस्रो, तेस्रो हुँदै जन र धनको अधिक क्षति गरेको कोरोना सामान्य बन्दै जाँदा पछिल्लो समय जनताले  केही राहत पाएको महसुस गरेका थिए ।

 

तर फेरि यसको त्रास विश्वका धेरै देशमा फैलिएको छ । गत सातादेखि चीनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै भारतले विदेशी यात्रुको आगमनमा कडाइ गर्ने थालेको छ ।

 

१ महिनायता जापान, दक्षिण कोरिया र चीनमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ । यी देशमा फैलिएको कोरोनाको संक्रमण एसियाका अन्य देशमा समेत देखिन थालेको छ । छिमेकी देश भारतमा कोरोना बढ्न थालेपछि नेपालमा पनि यसको असर पर्ने देखिन्छ । 

 

कोरोना भाइरस फैलिएसँगै छिमेकी मुलुक भारतले २१ डिसेम्बर २०२२ अर्थात् बुधबारदेखि अन्य देशबाट भारत भित्रिने नागरिकको विमानस्थलमै कोरोना परीक्षण सुरु गरेको छ ।

 

आत्तिनु पर्दैन : विज्ञ


आममानिसमा कोरोना संक्रमण फैलिँदै जाँदा पुनः लकडाउनको सामना गर्नुपर्ने हो कि भन्ने त्रास बढेको छ । तर यसबाट खासै डराउनुनपर्ने विज्ञहरू बताउँछन् । 

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार हाल देखिएको बिएफ७ नामक नयाँ भेरियन्ट कति घातक छ भनेर हालसम्म पुष्टि भइसकेको छैन । त्यस्तै नेपाल सरकारको अधिकारिक तथ्यांकअनुसार हालसम्म नेपालमा कुनै पनि संक्रमण पुष्टि नभएकाले यसबारे त्यस्तो धेरै आतंकित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 

 

तर यसो भन्दैमा कोरोनालाई हल्का रूपमा नलिन पनि उनको आग्रह छ । साथै छिमेकी मुलुक भारत लगायत अन्य देशमा यसको संक्रमण बढ्न थालेपछि नेपालमा पनि यसको प्रभाव पर्ने भएकाले सम्बन्धित निकायले सुरक्षाको व्यवस्थापनमा कडाइ गरिनुपर्ने उनको भनाइ छ । 

 

‘जनताको भूमिका महत्वपूर्ण’

 

कोरोना महामारी फैलिनुअघि सरकारले नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्ने केएमसी कलेजमा कानुनशास्त्र अध्ययनरत शुभम सिंह बताउँछन् । समस्या सिर्जना हुनुअघि सरकारले नियन्त्रणका लागि सरकारी संयन्त्र प्रयोग गर्नुपर्ने सर्वोच्च अदालतअगाडि भेटिएका सिंहले बताए । उनी भन्छन्, ‘कोरोनालाई लिएर सरकार समयमै सचेत नभए पुनः देशले ठुलो क्षति भोग्न सक्छ ।’


त्यस्तै काठमाडौँको बानेश्वर बस्ने अञ्जना थापा भने कोरोना नियन्त्रणका लागि सरकार र सर्वसाधारण दुवैको महत्वपूर्ण भूमिका रहने बताउँछिन् । कोरोनाको संक्रमणबाट जोगिन डाक्टर र डब्लूएचओले सार्वजनिक गरेका नियम र मापदण्ड पालना गर्नुपर्ने उनको भनाइ छ । 


उनी भन्छिन्, ‘सरकार र सर्वसाधारण दुवैको महत्वपूर्ण भूमिका रहने भएकाले दुवैको साथ र पहल आवश्यक पर्छ ।’


त्यस्तै बालाजु घर भएका डिल्ली आचार्य पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट देखापर्नु स्वाभाविक भएको बताउँछन् । उनी भन्छन्, ‘जाडोको समयमा विभिन्न प्रकारका रोग देखा पर्न सक्छन् । त्यसमध्ये कोरोना पनि हो ।’ 


तर कोरोनाले विश्वव्यापी रूपमा चर्चा पाएको हुनाले यसबाट पनि सचेत रहनुपर्ने उनको भनाइ छ । त्यस्तै आफू कोरोनाबाट जोगिन स्वास्थ्य मापदण्डहरू अपनाउने गरेको र अरूले पनि मास्क लगाएर सरकारलाई सहयोग गर्नुपर्ने उनले बताइन् । 

 

नियन्त्रण र रोकथाममा सक्रिय सरकार

 

नेपालले सरकारले पनि कोभिड– १९ को पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि सीमा नाका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट नेपाल भित्रिने यात्रुको ज्वरो नाप्ने, शंकास्पद व्यक्तिहरूको एन्टिजेन टेस्ट र जिन सिक्वेन्सिङ गर्ने कार्यमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा खोप अभियान सुरु भएदेखि हालसम्म कुल ५ करोड ३५ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ । जसमा २ करोड ३२ लाखभन्दा बढीले एक मात्रा खोप लगाएका छन् भने २ करोड २३ लाख २४ हजारभन्दा बढीले पूर्ण मात्रा लगाएका छन् । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्