यी हुन् प्रचण्ड क्याबिनेटका पहिलो सारथि
काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । पहिलो चरणमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १–१ जना मन्त्री बनेका हुन् ।
३ उपप्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् ।
उपप्रधानमन्त्रीहरूमा श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बनेका छन् । त्यसैगरी मन्त्रिपरिषदमा बारा –३ बाट निर्वाचित एमाले सांसद ज्वालाकुमारी साह, बैतडीका सांसद दामोदार भण्डारी र धनकुटाका सांसद राजेन्द्रकुमार राई पनि मन्त्री बनेका छन् । उनीहरूको मन्त्रालय अहिले तोकिएको छैन ।
त्यस्तै डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट समानुपातिक सांसद अब्दुल खानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएका छन् । बाँकी मन्त्रालय सबै प्रधानमन्त्री प्रचण्डले आफूसँग राखेका छन् ।
मन्त्रिपरिषद्मा पौडेललाई सरकारमा दोस्रो वरीयता दिइएको छ भने श्रेष्ठ तेस्रो वरीयतामा छन् । यस्तै लामिछाने चौथो वरीयतामा छन् ।
सबै मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
एमालेसहित ७ दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन् । राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने भएका छन् ।