रविको राजनीतिक छलाङः पार्टी खोलेको सात महिनामै गृहमन्त्री
काठमाडौँ– गत असार–७ गते टेलिभिजन सञ्चारकर्मबाट छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोलेका थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेको सात महिनामा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका छन ।
विश्व राजनीतिकमा बिरलै यस्तो अवसर पाइन्छ । नेपालजस्तो देशमा यस्तो अवसर थोरैले पाउँछन् । यो भन्दा अघि नेकपा एमालेका केन्द्रीय सदस्य युवराज खतिवडाले अर्थ मन्त्रालयको जिम्मेवारी लिएर यस्तै अवसर पाएका थिए । टेक्नोक्र्याट डा. खतिवडालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा अर्थ मन्त्री बनाएका थिए ।
‘सिधा कुरा जनतासँग’ ब्रान्डमा कार्यक्रम सञ्चालन गरेका उनी लोकप्रिय बने । उक्त कार्यक्रममा उनले ‘टुँडिखेलमा लगेर नाकको डाँडी भाँच्ने’ अभिव्यक्ति पेशामैत्री तथा कानुनसम्मत होइन, तर आमजनको आक्रोशको प्रतिनिधि आवाज बन्यो र यो शब्द जनताले रुचाए पनि ।
७० को दशक पार गरिसकेका हजुर‘बा’ पुस्ताले नेतृत्व गरिरहेको पार्टीप्रति नयाँ पुस्ताले प्रश्न गरिहेका बेला रविले मौका पाएका छन। उनले आफ्नो पार्टीलाई विकल्पका रुपमा उभ्याउने अपेक्षा गरेका थिए । तर, उनको अपेक्षाभन्दा बढी जनताले मत दिए ।
मूलधारका पार्टीहरुप्रति वितृष्णा बढिरहेका बेला रविले राजनीतिकमा फाइदा मात्र लिएनन् । उनले राज्य सत्ता सञ्चालनको चास्नी चाखे । हिजो सरकारमा भएका व्यक्तिले काम गरेनन् भनेर कराउने रविले सरकारमा सहभागी भएपछि कस्तो काम गर्छन् भन्ने चासोको विषय बनेको छ ।
रविले नेपालमा वैकल्पिक पार्टी बनाउन लक्ष्य लिएर पार्टी खोलेका थिए । छोटो समयमा जनताको राम्रो विश्वास बटुलेर जनमत पाएका उनको आगामी राजनीतिक यात्रा भने कामबाट भन्न सकिनेछ ।
गत मंसिर ४ गतेको निर्वाचनमा रास्वपाका उनी चितवन–२ बाट ४९ हजार २ सय ६४ मत ल्याएर निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २ सय ८१ मतान्तरले हराए । श्रेष्ठले १४ हजार ९ सय ८३ मत पाएका थिए ।
अघिल्लो पटक यस क्षेत्रबाट विजयी भएका एमालेका कृष्णभक्त पोखरेल तेस्रो भए । उनले १४ हजार ६ सय ४७ मत पाएका थिए । यो सँगै रास्वपाको प्रतिनिधि सभामा २० सीट पाएको छ । प्रचण्ड नेतृत्व सरकारमा रविको पार्टीले तीन वटा मन्त्रालय पाएको छ ।
टेलिभिजन सञ्चारकर्मले बनायाे नेता
मूलधारको टेलिभिजनकारिता ‘नीति र नेतृत्व’को गुण–अवगुणमा केन्द्रित रहेका बेला उनको आम जनकेन्द्रीत सञ्चारकर्मबाट लोकप्रिय थिए । त्यो सँगै देशको राजनीतिक तथा गैर–राजनीतिक नेतृत्वलक्षित उनको धारिलो टिप्पणी, तीखो बचनवाणी आमजनको मनमा बस्यो । त्यति मात्र होइन, पीडित जनताको उनी ‘आवाज’ समेत बने ।
लामिछानेले कार्यक्रम सिधा कुराबाट जनताको आवाज बुलन्द गर्दै न्याय र भष्ट्राचाररहित समाज निर्माणमा योगदान दिए । उनलाई उक्त कार्यक्रमले राजनीतिमा उत्रिन सजिलो बनायो । पछिल्लो जनताको चाहाना भनेकै राम्रो व्यक्ति राजनीतिमा प्रवेश गरोस र देशको नेतृत्वमा विकास प्रेमी नेता आउन भन्ने थियो । आजको समयमा नेपालको गन्जागोल राजनीतिलाई देख्दा नयाँ अनुहार र युवा नेतृत्वप्रति देशको नेतृत्व गर्नुपर्छ भन्ने चाहना सबैको छ ।
खाडी मुलुकहरुमा जाने युवाहरुको भन्दा युरोपतिर जाने युवाहरुको महत्व बढेको छ । अहिले धेरै युवाहरु जापान, कोरिया, क्यानडा, अष्ट्रेलियालगायतका विभिन्न युरोपियन देशमा जाने गरेका छन् । ती युवाले त्यहाँ विकास हेरेका छन् । उनीहरु नेपालमा त्यस्तै विकास खोजिरहेका छन् । तिनै वैदेशिक रोजगारीमा कार्यरत कामदारका पक्षमा रवि उभिए । त्यस्का कामदारले विदेशमा भोग्नुपरेका पीडा उनले टेलिभिजनमा देखाइदिन्थे र समाधानका लागि पहल गर्थे ।
स्थानीय तहको निर्वाचनपछि काठमाडांै महानगरपालिका लगायतका केही स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो पक्षमा नतिजा ल्याएपछि पछिलो समय रविलगातका केही नयाँ अनुहारहरु आकांक्षीको रुपमा आए । यीमध्ये रविले फाइदा लिए । अहिले देशभर स्वतन्त्र उम्मेद्वार बन्नेहरुको पक्षमा माहोल त बनिसकेको छैन । उपत्यका तथा ठूला शहरभन्दा बाहिर पनि स्वतन्त्र उम्मेद्वारको पक्षमा माहोल बन्दै जानेमा विश्वास गर्ने आधार धेरै छन् । तर, अहिले विजेता स्वतन्त्रतर्फका उम्मेद्वारहरुले जनताको पक्षमा राम्रा केही काम तथा अभ्यासहरु गर्न सके भने उनी राजनीतिमा टिक्ने देखिन्छ ।
तीन वर्षअघि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछाने पुर्पक्षका लागि थुनामा रहे । रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरी पक्राउ गरेर अनुसन्धान गर्यो । पछि, उनलाई जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख धरौटीमा थुनामुक्त गर्ने आदेश दिएको थियो । अहिले पनि रवि लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनको नागरिता विवादको मुद्दा अनुसन्धानकै प्रक्रियामा छ ।