मानव अधिकारका क्षेत्रमा काम गर्ने निकायको गतिविधि अनुगमन गर्दै आयोग
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले ज्येष्ठ नागरिकका हक हित, अधिकारकाको संरक्षण र संवर्द्धनमा विभिन्न निकायले सञ्चालन गरेका कामप्रति आयोगले अनुगमन गरिरहेको बताएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा ‘हामी सबैको सरकार, ज्येष्ठ नागरिकको अधिकार’ नारासहित दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०७९ मनाइएको छ ।
कार्यक्रममा अध्यक्ष मगरले भने, “वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सेवासुविधा कत्तिको प्रभावकारी ढङ्गले सञ्चालन भएको भन्ने विषयमा आयोगले अध्ययन प्रतिवेदन तयार गरिरहेको छ । मानव अधिकार उल्लङ्घन भएका क्षेत्रहरूको आयोगबाट अवलोकन भइरहेको छ ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले भने, “समन्वयन र सहकार्य गरेर ज्येष्ठ नागरिकको हकहितको सम्मान, हकहितका लागि नीतिगत कार्यान्वयन गर्न आयोग प्रतिबद्ध रहेको छ ।”
मूल समारोहमा मुलुकलाई निःस्वार्थ सेवा कार्यको कदरस्वरुप दिवसका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकारका रुपमा संरक्षकत्व प्रदान गरिरहनुभएका ९८ वर्षीय ज्येष्ठ नागरिक डा गौरीशङ्करलाल दासलाई सम्मानपत्र प्रदान गरिएको थियो । –रासस