Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिवर'बाट बङ्गुर मर्न थाले

सोमबार, पुस ११, २०७९

म्याग्दी– म्याग्दीमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमणका कारण बङ्गुर मर्न थालेका छन् । 

 

अन्नपूर्ण गाउँपालिका–२ नौलीबगरमा मरेका बङ्गुरको प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिवर भित्रिएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, म्याग्दीले जनाएको छ । 

 

केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले म्याग्दीका केही फार्ममा लिइएको नमूनामा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको जानकारी दिए । “रोग नियन्त्रणमा नआएसम्म बङ्गुर ओसारपसार गर्न रोकिएको छ,” उनले भने, “कृषकहरूलाई सावधानी अपनाउन आग्रहका साथै नियन्त्रणका लागि पशु चिकित्सक र प्राविधिक परिचालन गरिएको छ ।” 

 

रोगबाट मरेका बङ्गुरलाई व्यवस्थित तरिकाले जमिनमा गाड्नुका साथै फैलिन नदिन जैविक सुरक्षा अपनाइएको केन्द्रले जनाएको छ । नौलीबगरको फार्ममा ३० भन्दा बढी बङ्गुर मरेका अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जीसीले बताए । मरेका र बिरामी बङ्गुरमा ज्वरो बढी आउने, बान्ता गर्ने, झोक्राउने र शरीरमा नीलो डाम देखिने लक्षण देखिएको छ । 

 

बेनी नगरपालिकाको पशु सेवा प्राविधिक प्रदीप गौतमका अनुसार मङ्गलाघाटको बङ्गुर फार्ममा पनि २३ वटा बङ्गुर मरिसकेका छन् । व्यावसायिकरूपमा पालिएका बङ्गुर फार्ममा रोग देखिएपछि सतर्कता अपनाइएको छ । 

 

पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपालमा गत वर्षको चैतमा काठमाडौँमा देखिएको थियो । गण्डकी प्रदेशको पोखरा, स्याङ्जा र नवलपुरमा केही दिनअघि अफ्रिकन स्वाइन फिवर देखा परेको थियो । –रासस

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्