मयुरको प्वाँख, बाँसुरी र गाई किन श्रीकृष्णका प्यारा भए ?
काठमाडाैँ - सायद भगवान् श्रीकृष्णका लाखौँ करोडौँ भक्त छन् । श्री विष्णुका अवतार श्रीकृष्णका वचन र आदर्शले मानिसलाई सफल जीवन जिउन सदैव प्रेरित गर्दछ । पृथ्वीमा जब अधर्मकाे घडा भरिन्छ, जब अधर्मीहरूकाे बाहुल्यता हुन्छ । तब श्री बिष्णुले अवतार लिन्छन् । त्यही अवतारमा एक हुन् श्री कृष्ण । हिन्दु धार्मिक मान्यता अनुसार श्रीकृष्णलाई केही वस्तुहरू निकै प्यारो छन् । जो उनले कहिल्यै आफूबाट टाढा राखेनन् ।
भगवान् श्रीकृष्णका लागी उनको मक्खन मिस्री, बाँसुरी, गाई, मयुरको प्वाँख र कमलको फूल अत्यन्तै प्रिय छन् । तर किन श्रीकृष्णलाई यी चिज किन प्यारो छ त ? त्यसबारे जान्नुहोस् :
– मक्खन र मिस्री
हिन्दु धर्मग्रन्थ अनुसार श्रीकृष्णलाई मक्खन र मिस्री अत्यन्त प्रिय लाग्ने बताइएको छ । मिस्रीको स्वाद मक्खनमा मिसिएपछि मक्खनको मिठास बढ्ने र मक्खनको कण कणमा मिस्री घोलिएर मक्खन स्वादिलो हुने गर्दछ । मिस्रीयुक्त मक्खनले जीवन र व्यवहारमा प्रेमलाई अपनाउनु पर्ने सन्देश दिन्छ । त्यसैले श्रीकृष्णलाई मक्खन मिस्री प्रिय रहेको मान्यता छ ।
– मयुरको प्वाँख
मान्यता अनुसार श्रीकृष्णलाई मयुरको प्वाँख अत्यन्त प्यारो छ । श्रीकृष्णले मुकुटमा धारण गर्ने गाढा रङ्गको मयुरको प्वाँखले दुख र कठिनाइ निवारण गर्ने र फिक्का रङ्गको भए सुख, शान्ति र समृद्धिको प्रतीक मानिन्छ । त्यसैले श्रीकृष्णले मयुरकाे प्वाँख प्रिय रहेको मान्यता छ ।
– बाँसुरी
श्रीकृष्णका लागी बाँसुरी अत्यन्तै प्रिय छ । बाँसुरीमा आख्ला हुँदैन । मान्यता अनुसार यसले आफूभित्र कुनै गाँठो वा बदलाको भाव नराख्न सङ्केत गर्दछ । यस्तै बाँसुरी नबजाई बज्दैन जसले अनावश्यक बोल्न वा विचार राख्न नहुने सङ्केत गर्दछ । र बाँसुरी बज्दा मधुर तथा मिठो बज्दछ । जसले मान्छे बोल्दा मीठो बोल्नुपर्ने सङ्केत गर्ने मान्यता छ । यति धेरै गुणयुक्त बाँसुरी श्रीकृष्णलाई प्यारो भएको धार्मिक विश्वास छ ।
– कमलको फुल
कमलको फुलको सुन्दरता र सुगन्धले सबैलाई मोहित पार्दछ । हिलोमा फुलेर हिलोबाटै पोषण लिएर पनि कमल सफा हुन्छ । त्यसैले कमललाई पवित्रताको प्रतीक मानिन्छ । यसले कठिनाइमा पनि सुखपूर्ण बाच्न सिकाउने भएकाले श्रीकृष्णलाई कमलको फुल प्यारो छ ।
– गाई
श्रीकृष्णलाई गाई अत्यन्तै प्रिय छ । हिन्दु धार्मिक मान्यता अनुसार गाई सबै कार्यका लागी उदार तथा गुणयुक्त मानिन्छ । गाईको प्रदक्षिणा गरी प्रणाम गर्नाले मात्र सबै पापबाट मुक्ति मिल्ने तथा अक्षय स्वर्ग प्राप्त हुने मान्यता छ । त्यसैले श्रीकृष्णलाई गाई निकै प्यारो रहेको मान्यता छ ।