पिसाबमा संक्रमण किन हुन्छ ?
काठमाडाैँ - स्वास्थ्यका विषयमा बेलैमा ध्यान दिइएन भने भविष्यमा ठूलाे समस्या हुन सक्छ । धन र ज्यानकाे समेत क्षति हुनबाट बच्नका लागि साना साना समस्याहरू ख्याल गर्दै अगाडि बढ्नु आवश्यक हुन्छ । आज हाम्राे शरीरका महत्वपूर्ण अंग मध्ये एउटा पिसाब नलीकाे संक्रमणका बारेमा छलफल गराैँ ।
पिसाब नली एकदमै संवेदनशील हुन्छ । यस्तो अङ्गमा सङ्क्रमण फैलने खतरा पनि बढी हुन्छ । पिसाब पास हुने नली राम्ररी सफा नभए सङ्क्रमण मुत्राशयसम्म पुग्ने गर्छ । आजकल धेरैमा पिसाबको सङ्क्रमण देखिने गर्दछ ।
पिसाब गर्दा दुख्ने, पोल्ने समस्या र सङ्क्रमण महिला र पुरुष दुवैलाई हुन सक्छ । यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात् युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ । पिसाबको सङ्क्रमण हुनुमा यौनाङ्ग विशेष हेरचाह र सरसफाइमा ध्यान नदिनु प्रमुख कारण हो । यस्तै मासिक स्राव, गर्भावस्था, असुरक्षित यौन सम्पर्क आदिका कारणले पनि पिसाबको सङ्क्रमण हुनसक्छ । यस बाहेक अन्य धेरै कारणले पनि पिसाबको सङ्क्रमण हुन्छ:
कारण :
– मिर्गौलाको पत्थरी
– शरीरमा पानीको मात्रा कम हुनु
– ब्लाडर सुन्निनु
– कलेजोको समस्या
– संवेदनशील स्थानमा चोट लागेमा
– दुर्गन्धित शौचालयको प्रयोग
– धेरै बेरसम्म पिसाब रोक्नु
– गुप्ताङ्ग को राम्रो सफाइ नहुनु
– मधुमेह
– करङको हड्डीमा चोट लाग्नु
– पुरुषहरूमा प्रोस्टेट ग्लैडको बढेमा
यदि कुनै कारणवश पिसाबमा सङ्क्रमण देखिएमा, पिसाब फेर्दा यौनाङ्ग दुखेमा, पोलेमा वा फरक महसुस भएका तत्काल चिकित्सकको परामर्श लिनु पर्दछ । यो समस्या कालान्तरमा गम्भीर पनि हुनसक्छ । त्यसैले समय छदै चिकित्सकको परामर्श लिन ढिलो गर्नु हुँदैन । साथै नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाउनु पर्दछ । यस अलावा पिसाब लाग्नु साथ गरिहाल्नु पर्दछ । यसलाई रोकेर राख्नु हुँदैन ।