Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनी सरकार : मुख्यमन्त्रीमा एमाले बलियो, तेस्रो दल माओवादीको पनि दाबी

मंगलबार, पुस १२, २०७९

बुटवल– संघीय सरकारको राजनीतिमा ट्विस्ट आएर समीकरण नै फेरिएपछि प्रदेश सरकारको समीकरण पनि उलटपुलट भएको छ । 

 

पहिले तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनले संघसँगै अधिकांश प्रदेशमा सरकार बनाउन सक्ने अंकगणित भए पनि बदलिएको राजनीतिक परिदृश्यले आमजनताले कल्पना गरेभन्दा फरक बाटोबाट राजनीति हिँडेको छ । 

 

प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने पक्कापक्की भएको नेकपा एमालेको ग्रान्ड डिजाइनमा संसद्को पहिलो शक्तिलाई पाखा लगाउँदै तेस्रो ठुलो शक्तिले सत्ताको चाबी हातमा लियो । सत्ता नेतृत्वको दाबी गरिरहेका कांग्रेस र माओवादी केन्द्रबीच सहमति हुन नसक्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बने ।

 

यससँगै प्रदेश सरकारको समीकरण पनि फेरिएको छ । लुम्बिनी प्रदेशमा नयाँ सरकारको मुख्यमन्त्रीमा पहिलो ठुलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी गरेका छन् । 

 

८७ सदस्य रहेको प्रदेशसभामा एमालेका २९ सांसद छन् भने माओवादी केन्द्रले ९ सिट जितेको छ । केन्द्रमा बनेको गठबन्धनमा प्रदेश मुख्यमन्त्री विभाजनको टुंगो नलागे पनि ठुलो दलको हैसियतले एमालेले सरकार गठनको आन्तरिक गृहकार्य थालेको छ ।

 

एमालेका पोलिटब्युरो सदस्य लीला गिरी लुम्बिनीमा सरकारको नेतृत्वमा आफ्नो पार्टीको सशक्त दाबी रहेको बताउँछन् । ‘लुम्बिनीमा एमालेको नेतृत्व दाबी स्वाभाविक र जायज छ । हामीसँग २९ सिट छ,  ९ सिट हुने पार्टीले सरकारको नेतृत्व गर्छु भन्नु बेतुकको कुरा हो’, उनले भने ।  

 

यस्तै माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल पनि मुख्यमन्त्रीमा माओवादीको पनि दाबी रहेको बताउँछन् । ‘मुख्यमन्त्रीमा हाम्रो पनि दाबी छ, केन्द्रका शीर्ष नेताहरूसँग छलफल भइरहेको छ,’ बरालले भने ।

 

केन्द्रकै समीकरणअनुसार सरकार गठन हुने हो भने लुम्बिनीमा गठबन्धनका सांसदको संख्या ५२ छ । एमाले र माओवादीसँगै राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिटको प्रतिनिधित्व छ ।

 

विपक्षी गठबन्धनमा भने कांग्रेसका २७, लोसपाका ३, नेकपा एसका १ र जनमोर्चाका १ गरी ३२ सांसद छन् । 

 

सरकारको नेतृत्व दाबी गर्दै गर्दा दुवै पार्टीले लुम्बिनीमा संसदीय दलको नेता भने चयन गरेका छैनन् । एमालेबाट लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमीश्वर ढकाल संसदीय दलको नेताका दाबेदार छन् । 

 

यस्तै, माओवादीबाट रोल्पाबाट जितेका जोखबहादुर महरा दलको नेता हुने लगभग निश्चित छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १०:३०
प्रतिक्रिया दिनुहोस्