अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव
काठमाडौँ–नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग परिसङ्घका पदाधिकारीले भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ प्रतिनिधिमण्डलले मङ्गलबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेको हो । त्यस अवसरमा परिसङ्घका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिए ।
परिसङ्घले संकटपूर्ण अवस्थामा रहेको देशको अर्थतन्त्रलाई पुनःगति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको नेपाली अर्थतन्त्र उकास्न अवधारणा प्रधानमन्त्री समक्ष पेश गरेको हो । परिसङ्घले नेपाली अर्थतन्त्रलाई पुनःगति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ । परिसङ्घको यो सुझावलाई सरकारले उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने विश्वास अध्यक्ष अग्रवालले गरे ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ ।’ प्रधानमन्त्रीले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्नमै रहेको र यसका लागि परिसङ्घसँग सरकारले सहकार्य गर्ने बताए ।
‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं” उनले भने ।