Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रीले बोलाएपछि व्यवसायीले रोके आन्दोलन

६ जनाको टोली काठमाडौँ जाँदै
मंगलबार, पुस १२, २०७९

विराटनगर– ब्याजदर वृद्धिको विरोधमा आन्दोलनरत मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।


शपथ लिएर पदभार ग्रहण गरेकै भोलिपल्ट मन्त्री पौडेलले समस्या समाधानका लागि पहल थाल्ने भन्दै व्यवसायीहरूलाई बोलाएका हुन् । चर्को ब्याजदर र राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगित गर्न माग गर्दै गत बिहीबारदेखि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश १ समितिले आन्दोलन थालेका थिए ।


मन्त्रिपरिषद्को पहिलो बैठकले नै अर्थतन्त्रलाई प्राथमिकतामा राखेको थियो । यस्तै पदभार ग्रहण गर्ने क्रममा पनि पौडलले संकटपूर्ण अर्थतन्त्र सुधार्ने बताएका थिए ।


अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । सरकारले माग सम्बोधन गर्ने संकेत देखाएको भन्दै उनले माग सम्बोधन नभए पुनः सडक आन्दोलनमा फर्किने गरी तत्कालका लागि आन्दोलन स्थगित गरेको बताए ।


व्यवसायीहरूले एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।


मन्त्रीसँग वार्ता गर्न विराटनगरबाट ६ जनाको टोली काठमाडौँ जाने बताइएको छ  । वार्ता टोलीमा भैरहवा, बुटवल, नेपालगन्ज र काठमाडौं उद्योग वाणिज्य संघका प्रतिनिधि पनि सहभागी हुने रिजालले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्