Nic Ad Nic Ad
Nic Ad Nic Ad

अपाङ्गतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका जारी

मंगलबार, पुस १२, २०७९

काठमाडौँ– सरकारले अपाङ्गतामैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९ जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र नेत्रहीन युवा सङ्घ नेपालको साझेदारीमा निर्देशिका तयार पारिएको हो ।


सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा २८ मा परिवार नियोजन, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, आकस्मिक प्रसूति तथा नवजात शिशु, प्रजनन स्वास्थ्य रुग्णतालगायत सेवा प्रदान गर्दा किशोरी तथा अपाङ्गतामैत्री हुनुपर्ने व्यवस्था छ ।


ऐनको दफा ४० मा ऐनअन्तर्गत बनेको नियमको अधिनमा रही आवश्यक निर्देशिका बनाई मन्त्रालयले लागु गर्न सक्ने उल्लेख छ ।


सोही ऐनानुसार बनेको निर्देशिकामा स्वास्थ्य संस्थाहरू अपाङ्गतामैत्री हुने, अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक सेवा प्रदान गर्नुपर्ने, सेवा प्रदान गर्दा प्राथमिकता दिनुपर्ने, उनीहरूको गोपनीयता कायम गर्नुपर्नेलगायत विषयहरू समेटिएको छ ।


यस्तै, अपाङ्गताको अवस्था हेरी सहायता कक्ष र सहयोगीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य शिक्षा तथा सूचना सामग्री अपांगतामैत्री हुनुपर्ने, निःशुल्क र घरमै वा समुदायमै गई सेवा दिनुपर्ने, स्वास्थ्य सामग्रीहरूको सहज पहुँच हुनुपर्ने, स्वास्थ्य संस्थाको संरचना अपांगतामैत्री हुनुपर्नेलगायत विषय पनि समावेश छ । नेपालमा कुल जनसंख्याकोे झन्डै २ प्रतिशत नागरिकमा अपाङ्गता भएको तथ्याङ्क छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्