Nic Ad Nic Ad
Nic Ad Nic Ad

गरिमा क्यापिटलले ल्यायो आइपिओ सम्बन्धी जानकारी दिन सहायता कक्ष

मंगलबार, पुस १२, २०७९

काठमाडौं- गरिमा क्यापिटलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा आइपिओ भर्नका लागि आवश्यक पर्ने जानकारी दिन सहायता कक्ष सञ्चालनमा ल्याएको छ । 

 

नेपालका कम्पनीले आइपिओ जारी गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनिवार्य १० प्रतिशत कोटा छुट्ट्याउनु पर्ने नीतिगत व्यवस्था भएपछि त्यसको सहयोग गर्न क्यापिटलले सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

 

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका– २०७९ मा संगठित संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुअगावै सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरिएको छ ।

 

आइपिओ भर्ने प्रक्रिया

 

वैदेशिक रोजगारीमा रहेका नेपालीले आइपिओ भर्ने प्रक्रिया पनि क्यापिटलले उल्लेख गरेको छ । क्यापिटलका अनुसार धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंकमार्फत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्नेछ । 

 

सिडिएस एन्ड क्लियरिङबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपी) मार्फत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ । यस्तै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेस गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि बैंक मार्फत सि–आश्वा रजिस्ट्रेसन नम्बर (सिआरएन) लिनु पर्नेछ । 

 

आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा  ५० हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने छ । आवेदकले सार्वजनिक निष्कासन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्ने छन् ।

 

हरेक नेपाली शेयरधनी अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सो विषयमा जानकारी दिने र सहजीकरण गर्ने उदेश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको क्यापिटलले जानकारी दिएको छ । सहायता कक्षमार्फत आइपिओ भर्ने सम्बन्धी सबै जानकारी प्रदान गरिने क्यापिटलको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्