काबेली–बी १ र तल्लो मोदीको बिजुली निर्यात गर्न भारतले दियो अनुमति
काठमाडौँ– भारतले नेपाली आयोजनाबाट उत्पादित थप बिजुली किन्ने भएको छ । नेपाली आयोजनाबाट उत्पादित थप २ वटा परियोजनाको बिजुली निर्यात गर्न अनुमति भारतले दिएको छ । २४.२५ मेगावाटको काबेली–बी १ र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुलीलाई निर्यात गर्न अनुमति भारतले दिएको हो ।
यो अनुमतिसँगै इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा करिब ४५२ मेगावाट बराबरको आयोजनाले निर्यातको अनुमति पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतले चरणबद्ध रूपमा थप आयोजनाहरूलाई अनुमति दिइरहेको बताए । नदीको सहत घटेका कारण तत्काल भारतमा बिजुली निर्यात गर्न नसकिए पनि आगामी वर्षायामका लागि यो अनुमतिले उत्साह थपेको उनको भनाइ छ ।
गत १९ जेठदेखि ३ पुससम्ममा प्रधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी प्राधिकरणले ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।
सुरुमा २ वटा जलविद्युत केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो ।