नवनियुक्त गृह मन्त्री लामिछानेलाई भेट्यो महासंघको टोलीले
काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ ।
सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले नवनियुक्त गृह मन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिए । अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरेका थिए ।
भेटवार्ताका क्रममा महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध समेत गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी सिमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा पनि महासंघले भेटवार्ताका गृहमन्त्री समक्ष अनुरोध गर्यो । भेटवार्तामा शान्ति सुरक्षाको विषयमा पनि जोड दिइएको थियो ।
जिल्ला जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूबाट गर्ने व्यवस्थाका लागि सहयोग गर्न आग्रह गरिएको थियो । गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेकाले भेटवार्तामा महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा सकेको सहयोग गर्ने विश्वास दिलाए ।