निवर्तमान स्वास्थ्यमन्त्री खापुङले गरे आफ्नो कार्यकालको समीक्षा
काठमाडौँ- निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गरेका छन् । उनले आफ्नो कार्यकालभरि गरिएका काम आज एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।
मन्त्री खापुङले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माण, कोरोना भाइरस नियन्त्रण, हैजा नियन्त्रण र डेङ्गु नियन्त्रणमा गरेका काम सार्वजनिक गरेका हुन् । आव २०७८÷७९ मा भवन विभागमार्फत ६० स्वास्थ्य संस्था निर्माण सम्पन्न भएको, स्थानीय तहमा पाँच, १० र १५ शय्याका ६५५ आधारभूत अस्पतालमध्ये हालसम्म ३७३ अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भई निर्माणको क्रममा रहेका तथा बाँकी आधारभूत अस्पतालको डिपिआर तयारी तथा स्वीकृतको क्रममा रहेका उहाँले जानकारी दिए ।
यस्तै, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सूदुरपश्चिम प्रदेशमा ५० शय्याका सरुवा रोग अस्पताल निर्माण भइरहेका र बाँकी प्रदेशमा जग्गा प्राप्तिलगायतका काम अगाडि बढेको मन्त्री खापुङले बताए । गेटा मेडिकल कलेज तथा शिक्षण अस्पताललाई तीन शय्याको अस्पतालको रूपमा सञ्चालन गर्ने गरी अस्पताल निर्देशक नियुक्ति भई आवश्यक पूर्वाधारका काम अगाडि बढाइएको, देशका मुख्य राजमार्गमा हुनसक्ने दुर्घटनाको क्षति न्यूनीकरण तथा उपचारका लागि निश्चित दूरीका रणनीतिक स्थानमा ट्रमा सेन्टर स्थापनाको काम अगाडि बढेको उनले उल्लेख गरे ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा औषधिको प्रयोग र खोप आयात गर्न मौजुदा कानुन औषधि ऐन, २०३५ लाई अध्यादेशमार्फत कानुनी बाधा फुकाई खोपलगायतको आपूर्तिमा सहजता कायम गरिएको मन्त्री खापुङलले जानकारी दिए । पुस ११ गतेसम्म छ करोड १७ लाख ७६ हजार सात सय ७० खोपको मात्रा ल्याइएको, दुई करोड ३२ लाख आठ हजार, चार सय ८३ खोपको एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ पूर्ण मात्रा तथा ७९ लाख ७२ हजार सात सय ९१ बुस्टर खोप लगाइएको उनले बताए ।
डेङ्गु नियन्त्रणमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक सय ३९ स्थानीय तह, ६० जिल्ला र सातवटै प्रदेशमा डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन उल्लेख गरिएको छ ।
हैजा रोकथामका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका आठवटा स्वास्थ्य कार्यालय प्रयोगशालालाई पानी परीक्षण कीट प्रयोग गरेर परीक्षण गर्ने तालिम प्रदान गरिएको उनले उल्लेख गरे। मन्त्री खापुङले नीति, रणनीति र कानुन तर्जुमा विभिन्न कार्य गरेको बताए । औषधि (तेस्रो संसोधन) ऐन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन, स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति, नसर्ने रोग रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना तर्जुमा गरिएको उनले बताए ।
मन्त्री खापुङले आव २०७८÷७९ मा करिब ९१ प्रतिशत बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पूर्ण खोप प्राप्त गरेको उल्लेख गरेका छन् । यस्तै ४९ स्वास्थ्य संस्थामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन, सबै तहका ११७ अस्पतालमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम सञ्चालन, दुई हजार पाँच सयभन्दा बढी स्वास्थ्यचौकीको न्यूनतम सेवा मापदण्ड कार्यक्रम र २५ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिएको मन्त्री खापुङले जानकारी दिए । -रासस