Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्ड प्रधानमन्त्री बनेकाे भाेलिपल्टै चीनले खाेल्याे रसुवागढी नाका

बुधबार, पुस १३, २०७९

काठमाडाैं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनेलगत्तै ३५ महिनादेखि बन्द रहेकाे रसुवागढी नाका खुलेकाे छ । 

 

यससँगै चीनले नेपाली वस्तुमाथि लगाउँदै आएको अघोषित प्रतिबन्ध पनि फुकुवा गरेको छ ।

 

रसुवा भन्सार कार्यालयका अनुसार ३५ महिनादेखि नेपाली सरसामान लान बन्द गरिएको उक्त नाका मंगलबारदेखि खुला भएको छ । कोभिड–१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला भएको हो ।

 

ल्हासा स्थित महावाणिज्य दुतावासको पहलमा  २५ ड‍िसेम्बरबाट नाका खुला गर्ने भनिएकामा मंगलबारदेखि निर्यात सुरु भएकाे भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए ।

 

त्यस्तै, चीनले केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न टोली पठाएको छ भने उत्तरी नाकामा औपचारिक रूपमा आवागमन सञ्चालन गर्न सकारात्मक देखिएको छ। 

 

कोरोना संक्रमणको जोखिम देखाउँदै चीनले नेपाली वस्तु निर्यातमा रोक लगाउँदै आएको थियो । जसका कारण रसुवागढी र तातोपानी नाकाबाट नेपाली वस्तु निर्यात बन्द थियो । 

 

मंगलबार नाका खुलेसँगै नेपालबाट ५० लाख ७० हजार रुपैयाँ मूल्य बराबरको बाँसको मुढा, तामाका भाँडाजस्ता वस्तु चीनतर्फ निर्यात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

 

मंगलबार नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताए ।

 

कोरोना महामारीपछि २०७६ माघ १५ देखि रसुवागढी नाकाबाट सामान निर्यात र मानिसको आवतजावत बन्द थियो । सोमबार मात्रै ल्हसास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए । 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०९:३२
प्रतिक्रिया दिनुहोस्