चिसोले दुध उत्पादनमा कमी
जुम्ला–चिसोका कारण जुम्लामा दूध उत्पादनमा कमी आएको छ । हरेक वर्षको मङ्सिरदेखि फागुनको अन्तिमसम्म गाई–भैंसी पालक किसानले दुधबाट आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ ।
दिनदिनै चिसो बढ्दै जाँदा गाई, भैँसीलाई स्याहार नपुगेको किसानहरू बताउँछन् । अन्य गाइवस्तुलाई पनि स्याहार गर्न कठिनाई हुँदा जुम्लाका पशुपालक किसानहरू चिन्तित छन् । ‘न हरियो घाँस खोज्न जान सकिएको छ, न वस्तु चरनमा लान सकिन्छ’, जुम्लाको गुठिचौर गाउँपालिका–४ दशौदीकी मायादेवी पाण्डे भन्छिन्, ‘यी वस्तुको बिजोग हेर्दा मन थाम्न सकिन्न ।’
चैत महिनाको आगमन पछि फेरि दुध बढ्दै जानेमा किसानहरू ढुक्क छन् । सुख्खा घाँस, दाना पनि राम्रो नपाइने, चिसो पानी, चरनको अभावले पशुपालनमा समस्या आएको किसानहरू बताउँछन् । अहिले यहाँ एक पाथी दानाको मूल्य ७० रुपैयाँ र सुख्खा घाँस एक लडाको ५० रुपैयाँ पर्छ ।
चिसोका कारण अहिले सबैभन्दा बढी बजारमा दुधको माग हुने गरेको छ । सदरमुकाममा चिया पसल गर्दै आएका भिम बहादुर भण्डारी दूध चिया खानेहरू धेरै आउने गरेको बताउँछन् । ‘दूध पुग्दैन, चिसोले गर्दा दुधको चिया खानेको भिड हुन्छ।’, उनले भने ।
जुम्लामा ५ वटा डेरी संचालनमा छन् । तर बिहान ६ बजे देखि लाइनमा बसेपनि दुध पाइँदैन । अहिले जुम्ला बजारको डेरीमा १ सय रुपैयाँ प्रतिलिटर दुध पाइन्छ ।