बालकोटमा रविले ओलीसँग 'पावर' माग्दा मुस्कुराइरहे अर्थमन्त्री
काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे ।
रविभन्दा केही समयअघि बालकोट पुगेका अर्का उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालकोटमै थिए । संयोगवश दुवै जनाको भेट भयो ।
दुवै उपप्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँग सरकारमा सहभागी भएपछि भएका बैठक र काम कारबाहीका बारेमा जानकारी गराए । उनीहरूले सरकार कसरी चलाउँदा राम्रो हुन्छ भनेर अध्यक्ष ओलीसँग राय मागेको ओलीको सचिवालयले जनाएको छ ।
रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रविले ओलीसँग भएको भेटवार्तामा गृह मन्त्रालय सञ्चालनका लागि 'पावर' मागेको ओलीनिकट एक नेताले क्यानडा नेपाललाई जानकारी दिए ।
रविले 'गृहमा राजनीतिक हस्तक्षेप धेरै हुन्छ रे !' भन्दै त्यो रोकेर काम गर्ने वातावरण बनाइदिन ओलीसँग आग्रह गरेको बालकोट स्रोतले जनाएको छ ।
उनले अर्थमन्त्री विष्णु पौडलेकै अगाडि एमाले अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेको स्रोतले बतायो ।
‘मैले आपराधिक क्रियाकलापका विषयमा पहिलादेखि नै अध्ययन गर्दै आएको थिएँ । गृहमन्त्री भएको २ दिनमै गृहमा अपराधका मुद्दाको चाङ छ जस्तो लाग्यो । त्यही भएर मलाई काम गर्न कतैबाट दबाब आएन भने तपाईंले गृहमन्त्री बनाएको नाक थाम्छु,’ रविलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब तपाईंले भनेजस्तै काम हुन्छ । त्यही भएर गृह मन्त्रालय सञ्चालनमा राजनीतिक अवरोध भएन भने सय दिनमा राम्रो रिजल्ट देखाउँछु ।’
गृहमन्त्री रविले ओलीलाई पहिलो चरणमा आफूले गरेको काम र निर्णयका बारेमा पनि जानकारी गराएका थिए । ओलीले भने, 'काम गर्दै जानु बानी परिन्छ । मैले सक्ने सहयोग गर्छु' भन्ने जबाफ र आश्वासन दिएको स्रोतले जनाएको छ ।
रविले ओलीसँग गृह मन्त्रालयको पावर मागेको नजिकै बसेर सुनिरहेका अर्का उपप्रधानमन्त्री पौडेल भने मुसुमुसु हाँसिरहेका थिए । पौडेलले अन्तिममा ठट्यौली गर्दै ‘रविजी ! राजनीति अलिक फरक हुन्छ है’ भनेका थिए ।