बुद्ध एयरले पोखरा विमानस्थलबाट सबै आन्तरिक उडान गर्ने
काठमाडौँ–बुद्ध एयरले आइतबारदेखि आफ्ना सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष १ जनवरी २०२३ देखि सञ्चालनमा आउन लागेकाले बुद्ध एयरले आफ्ना सबै उडान त्यहिँबाट गर्न लागेको हो ।
विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएकाले कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्ना सबै उडान भर्नका लागि तयारी पूरा गरिसकेको पनि जनाएको छ । विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन काउन्टर नम्बर ३, ४ र ५ तोकिएको छ ।
यस विमानस्थलबाट काठमाडौँजस्तै देशका हरेक गन्तव्यलाई क्रमशः जोड्दै लैजाने उसले जनाएको छ । नागरिक प्राधिकरणको अनुमतिमा बुद्ध एयले २३ फेब्रुअरीदेखि रात्रिकालीन उडानसमेत गर्ने जनाएको छ । अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयरले पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने उल्लेख गरेको छ ।