उच्च ब्याजदरको माग सम्बोधन गर्न उद्योगी व्यवसायीहरूको आग्रह
काठमाडौँ–आन्दोलनरत उद्योगी व्यवसायीहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
अर्थमन्त्री पौडेलले मङ्गलबार पूर्वका उद्योगी व्यवसायीहरूलाई आन्दोलन छाडेर वार्तामा बोलाए पछि काठमाडौं आएका उनीहरूले चालु पुँजी कर्जा मार्गदर्शन र उच्च ब्याजदरको माग सम्बोधन गर्न माग गरेका हुन् । उद्योग वाणिज्य महासंघका वस्तुगत संघहरूले अर्थमन्त्रीसँग बैंकर र व्यवसायी तत्कालन छुट्याउन माग गरे ।
उद्योगी व्यवसायीहरूले अर्थमन्त्रीलाई बैंकहरूको सेवा शुल्क घटाउन तथा तरलता सहज बनाउनका लागि कर्जा निक्षेप अनुपातको सट्टा पुँजी, कर्जा तथा निक्षेप अनुपात लागू गर्नुपर्ने माग समेत राखेका छन् । अर्थमन्त्रीसँगको छलफल पछि पत्रकारसँग कुरा गर्दै मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अहिलेको अवस्थामा पुँजी कर्जा तथा निक्षेप अनुपात लागू लगायतका व्यवसायीका मागमा अर्थमन्त्री सकारात्मक देखिएको बताए । आन्दोलन छाडेर अर्थमन्त्रीसँगको वार्ता सकारात्मक भएको उनले प्रतिक्रिया दिए । अर्थमन्त्री पौडेलले व्यवसायीहरूका माग सम्बोधनका लागि केही दिन धैर्य गर्न आग्रह गरेको भन्दै व्यवसायीहरूको माग सम्बोधनका लागि निर्णय गर्दा व्यवसायीहरूलाई पनि राखेर नीति बनाउने बताएको पनि उनले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वका उद्योगी व्यवसायीहरूले राखेका ब्याजदर वृद्धि रोक्न, तरलता सहज बनाउन र पुनःकर्जाको किस्ता तिर्ने समय थप लगायतका मागमा अर्थमन्त्री सकारात्मक रहेको बताए । अर्थमन्त्री पौडेलले चाँडै व्यवसायीहरूको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको पनि उनले जानकारी दिए ।
त्यस्तै, उद्योगी मोतिलाल दुगडले बैंकहरूले उद्योगी व्यवसायीहरूलाई असहयोग गरेकाले व्यापारीहरू पीडित भएको उल्लेख गर्दैै अर्थमन्त्रीले आज भोलि नै समस्या समाधान हुन नसके पनि चाँडै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको बताए ।