Nic Ad Nic Ad
Nic Ad Nic Ad

१४ वर्षपछि प्रधानमन्त्री निवासमा ‘छोरीको खटनपटन’

बुधबार, पुस १३, २०७९

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान सरकारी निवास खाली गरिदिएपछि साँझ प्रधानमन्त्री दाहाल सरकारी निवास सरेका हुन् । 

 

गत ४ मंसिरको निर्वाचन अघिसम्म करिब पानी बाराबारको स्थितिमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार बनाउने सहमति भएपछि दाहाल तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका हुन् । दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको विशेष पहलमा प्रधानमन्त्री बनाइएको हो ।

 

दाहाललाई प्रधानमन्त्री बनाउनु अघि ओली–दाहाल सम्बन्ध राम्रो थिएन । तर, निर्वाचनपछि दाहालले नयाँ सरकारको नेतृत् वगर्न चाहेको र काँग्रेस त्यसका लागि तयार नभएपछि एमालेको सहयोगमा दाहाल प्रधानमन्त्री बनेका हुन् ।

 

प्रधानमन्त्रीमा नियुक्त भएको ३ दिनपछि दाहाल प्रधानमन्त्रीको सरकारी निवास सरेका छन् । दाहाल सरकारी निवास सरेसँगै १४ वर्षपछि प्रधानमन्त्री कार्यालयमा छोरीको खटनपटन चल्ने अवस्था सिर्जना भएको छ ।

 

प्रधानमन्त्री दाहाल आज सरकारी निवास बालुवाटार सर्दा बालुवाटारको साँचो उनकी कान्छी छोरी गंगा दाहालले बुझेकी छन् । उनी प्रचण्डकी स्वकीय सचिव पनि हुन् । दाहालकी जेठी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन् ।

 

गंगा दाहाल प्रधानमन्त्रीको स्वकीय सचिव तथा प्रधानमन्त्रीको छोरी पनि भएकोले १४ वर्षपछि प्रधानमन्त्री निवासमा छोरीको खटनपटन चल्ने अवस्था सिर्जना भएको हो । यसअघि पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेको समयमा उनकी छोरी सुजाता कोइरालाका खटनपटन चल्ने गरेको थियो ।

 

प्रधानमन्त्री दाहालकी श्रीमती सीता दाहाल अस्वस्थ छिन् । पूर्व प्रधानमन्त्री कोइरालकी श्रीमतीको निकै अघि नै निधन भइसकेको थियो । कोइराला विभिन्न समयमा ४ पटक प्रधानमन्त्री भएका थिए । उनी अन्तिम पटक सन् २००६ देखि सन् २००८ सम्म प्रधानमन्त्री बनेका थिए ।

 

दाहाल यसअघि दुई पटक प्रधानमन्त्री बनिसकेका भएपनि सार्वजनिक रुपमा उनका छोरीहरुको भूमिका देखिएको थिएन । तर, यसपाली भने स्वकीय सचिवको जिम्मेवारीमा रहेकी छोरी गंगाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको साँचो नै बुझेकी हुन् । उनलाई शहरी विकास मन्त्रालका सचिव सुरेश आचार्यले साँचो दिएका हुन् । सरकारी भवनहरु सोही मन्त्रालय अन्तरगत पर्छन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १९:३७
प्रतिक्रिया दिनुहोस्