Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसोले गाउँ छोड्न बाध्य मुगुवासी, स्वास्थ्य सेवा प्रभावित

बुधबार, पुस १३, २०७९

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीयवासी अत्यधिक चिसोका कारण गाउँ छोड्न बाध्य भएका छन् । 

 

मुगुम कार्मारोङका स्थानीयवासी हरेक हिउँदमा आफ्नो जन्मथलो छोडेर बाहिरिने गर्छन् । कठ्याङ्ग्रिँदो जाडोसँगै हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मङ्सिर, पुस, माघ र फागुन चार महिना उनीहरू गाउँ छाड्न बाध्य हुन्छन् । चिसोमा बेँसीतिर झरेसँगै उक्त हिमाली बस्ती सुनसान बन्छ ।

 

यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्तिकलगायत बस्तीका स्थानीयवासी बेँसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौँ, सुर्खेत, नेपालगञ्जतिर र कोही भारत कुल्लीमुलालीतर्फ गएका छन् ।

 

गर्मी मौसम सुरु भएसँगै पाटन क्षेत्र, वन जङ्गलमा जडीबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेँसी झरेका स्थानीयवासी गाउँतिर उक्लिन थाल्छन् ।

 

चिसोले गर्दा यहाँका स्थानीयवासी हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताए । चिसो खप्न नसकेर स्थानीयवासी बाहिरिने गरेपछि मङ्सिरदेखि फागुन महिनासम्म सो बस्तीमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

 

स्थानीयवासी बाहिरिएपछि त्यहाँ कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरीचौकीलाई पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरीचौकी बन्द हुने गर्छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरिने गरेपछि प्रहरीचौकीमा कार्यरत प्रहरी जवानहरूलाई पनि जिल्लातिर डाक्ने गरिएको छ ।

 

मौसमी बसाइ, भौगोलिक विकटता, गरिबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । 

 

मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी चार महिना गाउँ बाहिर र आठ महिना गाउँमै बसेर खेतीपाती जडीबुटी, विकास निर्माणका काम गरेर जीवन निर्वाह गर्छन् ।  –रासस

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्