Nic Ad Nic Ad
Nic Ad Nic Ad

अल नासरद्वारा रोनाल्डोलाई वार्षिक ७५ मिलियन डलरको अफर

बिहीबार, पुस १४, २०७९

काठमाडौँ – अरबी क्लब अल नासरले पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई प्रतिवर्ष ७५ मिलियन डलर प्रस्ताव राखेको छ ।

युरोपियन क्लबहरूले कुनै चासो नराख्दा रोनाल्डोले राम्रो प्रस्ताव आउने क्लबलाई पहिलो प्राथमिकतामा राखेका छन् । २२औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पोर्चुगल मोरक्कोसँग १–० ले स्तब्ध भएको थियो ।


मोरक्कोसँग पराजित भएसँगै रोनाल्डोको पाँचौँ प्रयासमा विश्वकप जित्ने सपना अधुरो भयो । त्यसयता रोनाल्डो परिवारका साथ साउदी अरेबियामै छन् । डेढ महिनाअघि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झौता तोडेका रोनाल्डो फ्री एजेन्टका रूपमा छन् । यसबिचमा उनले युरोपका विभिन्न क्लबसँग वार्ता गरेका थिए । तर, कुनै पनि युरोपियन क्लबले चासो नदेखाउँदा उनी अरबी क्लबसँग नजिक भएको ब्रिटिस मिडियाहरूले जनाएका छन् ।

 

रोनाल्डोले आधिकारिक रूपमा केही प्रतिक्रिया नदिए पनि अरबी क्लब अल नासरले उनको मेडिकल परीक्षणको दिन तोकिसकेको छ । सिबिएस स्पोर्टस्का अनुसार केही दिनभित्र रोनाल्डो र अल नासरबीच सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । रोनाल्डोको एजेन्ट जर्जे मेन्डेसले आफ्ना क्लाइन्टलाई युरोपियन क्लबमा पुर्‍याउन नसक्दा अरबी क्लबसँग वार्ता गरेको जनाएका छन् । विश्वकप लगत्तै रोनाल्डो र उनको परिवारलाई बसोबासको प्रबन्ध साउदी क्लबले गरेको छ ।


सम्भवतः जनवरीको खेलाडी किनबेचमा रोनाल्डो अल नासरको जर्सीमा देखिन सक्ने सिबिएस स्पोर्टस्ले जनाएको छ । अल नासरले रोनाल्डोलाई प्रतिसाता १० लाख डलर पारिश्रमिक दिन तयार छ । रोनाल्डो प्रतिसाता पारिश्रमिक बढाउने योजनामा छन् । यसैबिच, साउदी क्लबले रोनाल्डोलाई सात वर्षको सम्झौता गर्न सक्छ । रोनाल्डोले तीन वर्ष अल नासरको जर्सीमा खेल्नेछन् । 


त्यसपछिको चार वर्ष रोनाल्डोले साउदी अरेबियाको फुटबल विकासमा काम गर्नेछन् । सन् २०३० को फिफा विश्वकप फुटबल प्रतियोगिताको दाबेदारी साउदी अरेबियाले गर्दै छ । त्यसको तयारीका निमित्त पनि रोनाल्डोलाई सम्झौता गर्ने पक्षमा साउदी क्लब छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०६:४१
प्रतिक्रिया दिनुहोस्