पौडेल अर्थमन्त्री बनेपछि ४ दिनमा लगानीकर्ताको सम्पत्ति २ खर्ब ३४ अर्बले बढ्यो
काठमाडौं- एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेपछि सेयर बजारमा खुसियाली छ । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेको दिन सार्वजनिक बिदा भएपनि त्यसको भोलिपल्टदेखि बढ्न थालेको बजार तीव्र गतिमा दौडिएको छ ।
पौडेल अर्थमन्त्री बनेपछिका ४ कारोबार दिनमा नै पुँजी बजार मापक नेप्से परिसूचक १६२ अंकले बढिसकेको छ । गत पुस ७ गते १८७६.२१ विन्दुमा रहेको परिसूचक आज बजार बन्द हुँदा बढेर २०२९.०३ विन्दुमा पुगेको छ । यो ४ कारोबार दिनमा परिसूचक १६१.८२ विन्दुले बढेको हो ।
बजार पुँजीकरणका आधारमा योबीचमा लगानीकर्ताको सम्पत्ति २ खर्ब ३४ अर्ब रुपैयाँभन्दा बढीले बढेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार पुस ७ गते बजार पुँजीकरण २७ खर्ब २ करोड रुपैयाँ थियो । आज (पुस १४ गते) बजार पुँजीकरण बढेर २९ खर्ब ३४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।
यो ४ कारोबार दिनको बीचमा बजार पुँजीकरण २ खर्ब ३४ अर्ब ४६ करोड रुपैयाँले बढेको हो ।
पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछिका कारोबार दिनमा १ दिन भने बजार घटेको थियो । नेप्सेका अनुसार हिजो (पुस १३ गते) नेप्से परिसूचक ११.८ अंकले घटे पनि अरू दिन भने बजार बढेको छ ।
नेप्सेका अनुसार पुस ११ गते ५६.८७ अंकले, पुस १२ गते ५९.८७ अंकले र पुस १४ गते ५६.८८ अंकले परिसूचक बढेको छ । पौडेल नै अर्थमन्त्री बनेको समयमा यसअघि नेप्से ‘अलटाइम हाई’ हुँदै ३१९८ विन्दुमा पुगेको थियो ।