Nic Ad Nic Ad
Nic Ad Nic Ad

हाईमास्ट र सडक बत्तीले पोखरा झलमल्ल

बिहीबार, पुस १४, २०७९

काठमाडौं-  नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाईमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) बाट झलमल्ल बनाउन सुरु गरिएको छ ।

 

उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य-मुख्य चोकमा हाईमास्ट  र सडकमा बत्ती राखी झलमल्ल बनाउने काम भइरहेको हाे ।


पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाईमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाईमास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म ८ वटा हाईमास्ट लाइट जडान गरिएको छ ।


महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा १ हजार ६२४ वटा सडक बत्ती जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त  ९० वाटका १ हजार १०४ वटा र १२० वाटका ५२० वटा स्मार्ट बत्ती जडान गरिने छ । अहिलेसम्म १७१ वटा बत्ती जडान गरिएको छ । आगामी फागुनभित्र सडक बत्ती जडान सकिने छ ।


पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाईमास्ट र सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरे । रिमोटमार्फत बिरौटा, लेकसाइडलगायत ठाउँमा राखिएका हाईमास्ट र सडक बत्ती बालिएको थियो ।


कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।


प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि २७ वटा फिडर प्यानल जडान गरिने छ । त्यसमध्ये ३ वटा जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ ।


स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।


प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ ।

 

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्