Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालबालिकालाई चिसोबाट कसरी जोगाउने ?

शुक्रबार, पुस १५, २०७९

काठमाडौँ– पछिल्लो समय उपत्यकालगायत देशभर चिसो बढेको छ । चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यमा पनि विभिन्न समस्या देखापर्ने गर्छन् । 

 

यस्तो बेला बालबालिकालाई चिसोबाट कसरी जोगाउने भनेर अभिभावकका सामु चुनौती बन्ने गर्छ । चिसोमा विशेष गरी नवजात शिशु र ठुला बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखापर्ने गरेको जनस्वास्थ्यविद् डाक्टर अरुणा उप्रेती बताउँछिन् ।

 

बालबालिकालाई स्वास्थ्य समस्या वर्षभरि नै देखिन सक्छ । तर मौसम परिवर्तनको समयमा भने यसबाट थप सचेत रहनुपर्ने उनको भनाइ छ । चिसोमा बालबालिकामा पखाला चल्ने, छातीमा समस्या देखिने जस्ता समस्या बढी देखिन्छ ।

 

चिसोको समयमा बालबालिकाको टाउको र खुट्टाबाट चिसो छिर्ने भएकाले बच्चालाई अनिवार्य रूपमा टाउको छोप्ने गरी टोपी र खुट्टामा मोजा लगाइदिनुपर्छ । त्यस्तै तोरीको तेलबाट एलर्जी हुनेबाहेकका बालबालिकालाई जाडोमा तेल लगाएर छाती र खुट्टामा राम्रोसँग मसाज गर्दा रोगसँग लड्ने क्षमता बढ्ने र उनीहरूको शरीर फुर्तिलो बनाउने उनको भनाइ छ । 

 

चिसोमा के गर्नुहुँदैन ?

 

चिसोमा कतिपय अभिभावक आफ्नो बच्चालाई चिसो लाग्छ भनेर कम नुहाइदिने गर्छन् । जुन एकदमै गलत भएको डाक्टर उप्रेती बताउँछिन् । यसरी लामो समयसम्म ननुहाउँदा बच्चाहरूको जिउ चिलाउने, जिउमा लुतो आउन सक्ने हुन्छ । त्यसकारण सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

 

चिसोमा बच्चाहरूलाई मनतातो पानी अथवा कपडा भिजाएर शरीर सफा गरे पनि हुने उनको भनाइ छ । त्यस्तै न्यानो कपडा (भोटो) लगाइदिने गर्नुपर्छ । 

 

के खुवाउने ?

 

यस्तो बेलामा विशेष गरी बालकालिकाको खानपिनमा ध्यान दिनुपर्छ । डाक्टर उप्रेतीको भनाइअनुसार बच्चाहरूलाई चिसोबाट जोगाउन झोलिलो खानेकुराहरू खुवाउनुपर्छ । विभिन्न प्रकारका गेडागुडीको दाल अथवा जाउलो बनाएर खुवाउने गर्नुपर्छ ।

 

२ देखि ३ वर्षका बच्चाहरूलाई भने थोरै मरिच र कागती प्रयोग गरी बनाएका खानेकुराहरू खुवाउँदा यसले उनीहरूको शरीरमा रोगसँग लड्न सक्ने शक्ति बढाउँछ । 

 

बालबालिकालाई जाडो मौसममा हुने रोगबाट बचाउन न्यानोपन, खानपान, सरसफाइका साथसाथै चिसो नलाग्ने गरी बालबालिकालाई घरभित्रै सक्रिय बनाउने खेलहरू खेलाउनुपर्छ । तर यदि बालबालिकामा चिसो लागेर ज्वरो आउने, खाना नखाने, जस्ता लक्षणहरू देखापरेमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गराउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०८:११
प्रतिक्रिया दिनुहोस्