Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनमा कसरी भइरहेको छ लडाइँ?

बिहीबार, पुस १४, २०७९

एजेन्सी– युक्रेन आफूलाई समर्थन गर्ने पश्चिमा राष्ट्रहरूबाट थप अत्याधुनिक हतियारको प्रतीक्षामा छ।

 

युक्रेनी सेनाको गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले बीबीसीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “अहिले युद्ध अड्किएको अवस्थामा छ, अगाडि बढिरहेको छैन ।”

 

युक्रेनी फौजले गत नोभेम्बर महिनामा दक्षिणी सहर खेअर्सनलाई पुनः नियन्त्रणमा लिएपछि अहिले पूर्वी डोनेट्स्क क्षेत्रस्थित बख्मुटवरिपरि सघन लडाइँ भइरहेको छ । अन्यत्र रुसी सेना रक्षात्मक स्थितिमा रहेको छ। हिउँदका कारण युक्रेनको झन्डै एक हजार किलोमिटर लामो युद्धमोर्चामा स्थलगत कारबाही सुस्त बनेको छ ।

 

युद्ध मैदानबाट टाढाका स्थानमा रुसले ड्रोन र क्षेप्यास्त्रबाट मध्य अक्टोबरयता निरन्तर हवाई कारबाही गरिरहेको छ । युक्रेनका महत्त्वपूर्ण भौतिक संरचनाहरू रुसी कारबाहीको निसानामा परेका छन् । त्यसका कारण दशौँ लाख मानिसले बिजुली र पानी पाउन सकेका छैनन् र जाडोमा घर तताउने प्रणाली प्रयोग गर्न पाएका छैनन् ।

 

ती कारबाहीहरू निरन्तर हुन सक्ने तर रुसले त्यही तहको हवाई कारबाही भने जारी राख्न नसक्ने बुडानोभ ठान्छन्। रुसको क्षेप्यास्त्र भण्डारण रित्तिन लागेको र रुसी उद्योग त्यसलाई भरिभराउ राख्न अक्षम रहेको उनको बुझाइ छ ।

 

रुसी आक्रमणमा प्रयोग गरिएका धेरैजसो ड्रोन इरानले उपलब्ध गराएको भए पनि युक्रेनी गुप्तचर प्रमुखका अनुसार इरानले रुसलाई क्षेप्यास्त्र उपलब्ध गराउन अस्वीकार गरेको छ । पश्चिमा देशहरूले तेहरानमाथि थप कारबाही गर्न सक्ने भयका कारण इरानले त्यसो गरेको उनको ठम्याइ छ। अहिले नै इरानले आफ्नो पारमाणविक कार्यक्रमका कारण विभिन्न प्रतिबन्ध झेलिरहेको छ ।

 

युद्ध अहिलेका लागि गतिरोधको अवस्थामा रहे पनि बुडानोभले सन् २०१४ देखि रुसी नियन्त्रणमा रहेको क्राइमिया लगायतका भूमि आफ्नो नियन्त्रणमा फिर्ता ल्याउने विषयमा दृढ छन् । उनी भन्छन्, 'युक्रेनको सीमा सन् १९९१ को मै फर्किनेछ जुन सोभियत सङ्घ विघटन भएपछि स्वतन्त्र हुँदाखेरिकै सिमाना हो।' - बीबीसीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्