नमोबुद्धका कृषकलाई कृषि सामग्री हस्तान्तरण
बनेपा– काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ ।
नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो ।
सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ । छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आज आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख लामाले अनुदान पाउने कृषक, फार्म र सहकारी संस्थालाई कृषि उत्पादनका क्षेत्रमा अझ थप उदाहरणीय काम गरेर देखाउन आग्रह गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले राम्रो उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताए । नगरपालिकाको कृषि समितिका संयोजकसमेत रहेका वडा नं ३ का वडाध्यक्ष रमेश तिवारीले नगरपालिकाले कृषकलाई प्रत्यक्षरुपमा लाभान्वित र प्रोत्साहित हुने खालको विभिन्न कार्यक्रम तय गरिएको बताए ।
कृषि शाखाका प्राविधिक सहायक नवीन अधिकारीका अनुसार परियोजनाअन्तर्गत वडा नं २, ५ र ८ मा बाँसको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ । जसमध्ये परियोजना सुहाउँदो हावापानी, भूगोल र खेती गर्ने कृषकलाई छनोट गरेर सामग्री वितरण गरेको कृषि शाखाले जनाएको छ । –रासस