सेयर विश्लेषक भट्टराईको बिमासम्बन्धी पुस्तक बजारमा
काठमाडौं– सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईले जीवन बिमा किताब बजारमा ल्याएका छन् । लामो समयसम्म वित्तीय साक्षरतामा कलम चलाइरहँदा त्यसभित्रको अभिन्न अंगका रूपमा लिइने जीवन बिमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बिमा पुस्तक तयार गरेको भट्टराई बताउँछन् ।
पाठकको बढ्दो रुचि, बदलिँदाे वित्तीय आवश्यकता र बिमाको फैलँदै गएको बजारले यसको आवश्यकता अझ बढी देखिएको छ । बिमा बजारको गुणस्तर वृद्धि, जीवन बिमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्न बिमा ऐन र नियमावलीमा भएका पछिल्ला व्यवस्थाको उद्देश्य पूरा गर्न यसले सहयोग पुर्याउने छ ।
बिमा गर्न चाहने, बिमाको आवश्यकता बुझ्न चाहने अनि बिमा अभिकर्ताका रूपमा काम गर्न चाहने र गरिरहेका तथा बिमा बजारको नियमन गर्ने सबै पक्षलाई यो पुस्तकले सहयोग पुर्याउने लेखकको विश्वास छ ।
यसले भर्खरै आएको बिमा ऐन २०७९ का व्यवस्था, बिमा प्राधिकरणका निर्देशनहरू र जीवन बिमाको क्षेत्रमा भएका अन्तराष्ट्रिय अभ्यासलाइ समेत समेटेको छ ।
मानिसको वित्तीय योजना (फाइनान्सियल प्लानिङ) भित्र दैनिक खर्च व्यवस्थापन, लगानी, निवृत्त जीवनको वित्तीय योजना, करसँगै जीवन बिमा पनि पर्छ । जीवन बिमा मानिसको जीवनलाई आधार बनाएर गरिने बिमा हो । जुन धेरैका लागि कम रुचि तर बढी आवश्यकताको विषय पनि हो ।
यस्तै जीवन बिमालाई आवश्यकताअनुसार कसरी अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेबारेमा सर्वसाधारणलाई जानकारी दिनु पनि यो पुस्तकको उद्देश्य देखिन्छ ।
‘जसरी हामी लगानीका विविध विकल्पहरूलाई हाम्रो लक्ष वा योजनासँग जोड्छौँ, जीवन बिमालाई पनि हाम्रा विभिन्न आवश्यकतासँग जोड्दै लग्न सकिन्छ । जस्तो बचत, बच्चाको शिक्षा, विवाह, निवृत्त जीवनका लागि आवश्यक पैसा, परिवारको वित्तीय सुरक्षा, मृत्युपछि सम्पत्ति हस्तान्तरण, सम्पत्ति हस्तान्तरणमा लाग्ने करको व्यवस्थापन, मृत्यु संस्कारमा लाग्ने खर्चको व्यवस्थापन जस्तो धेरै विषयलाई जोडेर जीवन बिमाको प्रयोग गरी वित्तीय योजना बनाउन सकिन्छ,’ लेखक भट्टराईले भने ।
जीवन बिमा मृत्युपछि धनी बन्न गरिने लगानी हो भन्ने धेरै मानिसको बुझाइभन्दा धेरै फरक पनि रहको उनको भनाइ छ ।
भट्टराईले यसअघि सेयर मन्त्र, सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण, ‘हाउ टु इन्भेस्ट इन स्टक मार्केट’ जस्ता पुस्तक लेखिसकेका छन् । पाठकका रुचि, विचार, सल्लाह र सुझाव नै लेखनको महत्वपूर्ण ऊर्जा रहेको भट्टराई बताउँछन् ।
उनले बिमा प्राधिकरणका ऐन, नियम, निर्देशिकाहरूमा ल्याइएका परिवर्तनसँगै पुस्तकलाई समय सापेक्ष परिमार्जन गर्दैै जाने प्रण पनि गरेका छन् । २१६ पेजकाे यो किताबको मूल्य ३६५ रुपैयाँ राखिएको छ ।