Nic Ad Nic Ad
Nic Ad Nic Ad

बयालपाटा अस्पताल देशकै सर्वोत्कृष्ट

शुक्रबार, पुस १५, २०७९

अछाम– अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । यो अस्पतालले देशभरका अस्पतालमा सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो । 


काठमाडौंमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो । द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपराष्ट्रपति नन्दबहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे । 


अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले नेपालमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप हौसला मिलेको बताए । 


कर्पोरेट क्लब नेपालले गत वर्षदेखि देशभरमा विभिन्न सामाजिक विधा तथा क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ ।

 

स्वास्थ्य विधातर्फको अवार्ड छनोटका लागि सम्बन्धित क्षेत्रबाट विज्ञहरूको मूल्यांकन समिति गठन गरिएको थियो । बयालपाटा अस्पतालसँगै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो एन्ड इलाइट अस्पताल मनोनयनमा परेका थिए । 


मनोनयनमा परेका अस्पतालको बारेमा थप जानकारी लिन र बुझ्न क्लबले एक छुट्टै विज्ञहरू सम्मिलित अनुसन्धान टिम खटाएको थियो ।

 

बयालपाटा अस्पतालमा सुदुरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका केही जिल्लाका बिरामीले निःशुल्क स्वास्थ उपचार लिँदै आएका छन् । 


स्वास्थ क्षेत्रमा नमुना बनेको अस्पताललले बाहिरंग सेवा तथा २४सै घन्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवा प्रदान गर्दै आइरहेको छ ।

 

यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, हाडजोर्नीकाे सर्जरी, निःशुल्क मानसिक स्वास्थ सेवा, समुदाय स्वास्थ सेवा प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्